कोरोना महामारीमा स्थानीय तहले गरेको काम प्रसंशनीयः प्रधानमन्त्री ओली
काठमाडौं। नेपाल नगरपालिका संघले आफ्नो २८औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले आफ्नो स्थापनाको २८ वर्ष मनाएको हो।
कार्यक्रमलाई शुभकामना दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारले कोरोनाको बेला गरेको कार्यको खुलेर प्रशंसा गरे। प्रधानमन्त्री ओलीले भने, ‘म मुक्तकण्ठबाट प्रशंसा गर्न चाहान्छु। कोरोनाको महामारीका बेला स्थानीय सरकारले गरेको काम प्रशंसा गर्न योग्य छ।’
केन्द्र सरकारले आफूलाई अधिकार नदिएको भन्ने स्थानीय सरकारको आरोपलाई खण्डन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अधिकार तपाईँलाई नदिएर मैले किन राख्ने हो त ? मैले गोजिमा हाले ब्याज पनि आउँदैन, टेबुलमा राखे फूल झै बास्ना पनि दिँदैन।’
सुखी नेपाली र समृद्ध नेपालको नारा सार्थक बनाउनमा पनि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भने, ‘आर्थिक विकासमात्र समृद्धिको उदाहरण हैन। देशको जीडीपी बढ्नुले मात्र समृद्धिको यात्रा तय गरेको हुँदैन। समृद्धी त हरेक स्थानीय तहका हरेक घरको चुलोमा आगो बल्नु हो। सबै समान अवसर पाएर अगाडि बढ्नु हो।’
नगरपालिका संघले विभिन्न नगरपालिकाहरुसँग सम्झौता गरेको छ। तेस्रो चरणको एमओयू सम्झौता अन्तर्गत वागमती प्रदेशका सबै ३८ वटा नगरपालिकासँग सम्झौता गरेको हो।
उत्कृष्ट काम गर्ने ३ वटा नगरपालिकालाई पुरस्कृत पनि गरिएको छ। पुरस्कृत हुने नगरपालिकाहरुमा बुटवलको तिलोतमा नगरपालिका, झापाको कनकाई नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका रहेका छन्।
नगरपालिकाको तर्फबाट आफ्नो धारणा राख्ने वक्ताहरुले संघीयताको जग स्थानीय तह भए पनि सबै अधिकारहरु प्रयोग गर्न नपाएको गुनासो गरेका थिए। उनीहरुले संविधानले दिएका २२ वटा अधिकार मध्ये धेरै अधिकार प्रयोग गर्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।







डिसी नेपाल







Facebook Comment