कमाण्ड तथा स्टाफ तालिममा सेनानी श्रेष्ठ सर्वोत्कृष्ट

डिसी नेपाल
१३ चैत २०७७ २१:११

काठमाडौं । विदेशी छसहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् ।

सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक तथा बङ्गलादेश, नाइजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतका एक÷एक सैनिकले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइएको उक्त तालिममा हालसम्म विभिन्न देशका ८९ विदेशी शिक्षार्थी दीक्षित भइसकेको जानकारी दिइएको थियो । समापनका अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनानी समिर श्रेष्ठलाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदानका साथै कलेजको वार्षिक प्रकाशन ‘दि शिवपुरी’ जर्नल २२औँ संस्करणको लोकार्पणसमेत गरे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा धर्मकान्त बास्कोटा र शिक्षा अधिकृत उपरथी हिरालाल जोशीले सैनिक कमाण्ड तथा स्टाफ कलेजको तालिम र शोधपत्रमा प्रथम हुने सेनानी भूमिराज ओझालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा प्रधानसेनापति थापाले तालिम पूरा गरेका सैनिक अधिकृतले सङ्गठनलाई नवीन सोच र दृढ सङ्कल्पका साथ अघि बढाउन दृढ सङकल्प गर्न आवश्यक रहेको बताए । सेनाको माथिल्लो दर्जामा पुग्न अनिवार्य मानिएको उक्त तालिमसँगै सहभागीलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको अध्ययनको व्यवस्था मिलाउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *