विकास निर्माणमा सबै एकजुट हुनुपर्छः अध्यक्ष तिमिल्सिना
पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । मुलुक विकास र समृद्धिको युगमा अघि बढेको जनाउँदै विकास निर्माणका कामलाई प्रभावित पार्न नहुने बताए ।
आफ्नो जन्मगाउँ मोदी गाउँपालिका–७ राम्जादेउरालीमा आजदेखि शुरु भएको प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले चुनावका बेला आ–आफ्नो विचारको पक्षमा राजनीति गरे पनि विकास निर्माणमा सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए ।
उनले अब नागरिक आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताए । यसका लागि व्यावसायिक बन्नुपर्ने धारणा अध्यक्ष तिमिल्सिनाको छ । कृषि, पशु, खेल, गायन जुनसुकै क्षेत्रमा लागे पनि व्यावसायिक हिसाबले लाग्नुपर्ने जनाउँदै कुनै पनि पेशा व्यावसाय सानो ठूलो नहुने भएकाले त्यसमा गरिने मेहनत र परिश्रममा भर पर्ने उनले बताए ।
पहिलो राष्ट्रियसभा अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पाँच समूहको सहभागिता थियो । लिग कम नक आउट सिष्टममा खेलाइने खेलको फाइनल यही चैत १७ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार, द्वितीयले रु एक लाख र तृतीय हुनेले रु ५० हजार पुरस्कार पाउने छन् ।
आज भएको पर्वत र बागलुङबीचको उद्घाटन खेलमा पर्वतले जित हात पारेको छ । ३–० को सोझो सेटमा पर्वतले जितेको हो । सो अवसरमा रत्यौलि गीत प्रतियोगिता र डोरी तान्ने प्रतियोगितासमेत आयोजना गरिएको छ । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment