सुनसान फेवाताल (फोटोकथा)

एसके शर्मा
२३ चैत २०७७ १२:५७

पोखरा। ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ,’ गायक प्रेमप्रकाश मल्लले गाएको यो गीत झैँ अहिले फेवातालमा माछापुच्छ्रेले पौडी खेलेको देखिँदैन। माछापुच्छ्रेले फेवातालमा पौडीखेलेको हेर्दै रमाउने पर्यटक पनि फेवाताल देखिदैनन् आजभोली। कोरोनाको प्रभावले गर्दा एक वर्षदेखि प्रकृतिको अनुपम उपहार पोखरा, अनी त्यही पोखराको मुटु फेवाताल सुनसान देखिन्छ।

बसन्तऋतुकाे फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन्। त्यो फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन । तर, आज त्यही फेवाताललाई हेरेर मोहित हुने र दृश्यपान गरेर धित मार्न नसक्ने पर्यटकहरु हराएका छन। कोरोनाले ल्याएको त्रासका कारण गत वर्षदेखी सुनसान रहेको पोखरामा अहिले पनि विदेशी पर्यटकहरु कमै दखिन्छन्।

फेवातालको काखबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमश्रृंखला दृश्यावलोकन आजभोली कमै देखिन पाईन्छ। केही दिनदेखि लागेको तुवालोले गर्दा हिमश्रृंखलाहरु देखिन छोडेपछि फेवातालको काख सुनसान देखिन्छ। सराङकोट तलबाट शुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको प्राकृतिक सुन्दरताले भरिएको फेवाताल हराभरा त छ, सुनसान छ। सुनसान भएपछि फेवाताललाई हेरेर कविता कोर्ने कवि, गीत लेख्ने गीतकार अनि कथा र उपन्यास मन्थन गर्ने उपन्यासकारहरु पनि हराएका छन्।

दिनभरी तालमा टहलिँदै दिन बिताउने पर्यटकहरुको पर्खाइँमा देखिन्छ फेवाताल। ‘माझिदाइ पोखरा फेवातालको, लाममाया साच्चैको नलाम भो ख्यालख्यालको,’ मिलन लामा र विमाकुमारी दुराको यो गीतले भनेझै,  गर्लफ्रेण्डरब्वायफ्रेण्डका लागि डेटिङ्ग स्पट बन्ने फेवातालमा अहिले युवा युवतीहरु देखिन छाडेका छन्।

विद्यार्थी र साथीभाइका लागि सामुहिक घुम्ने गन्तव्य स्थल फेवातालमा विभिन्न स्कुल कलेजको ड्रेसमा देखिने विद्यार्थीहरु कमै देखिन थालेको छ। फेवातालसँगै जोडिएको बसुन्धरापार्क र कोमागाने पार्कमा आलिंगनमा बाधिँदै फेवातालको दृश्यावलोक गर्ने युवा युवतीहरु पनि आउन छाडेका छन।

फेवाताल भक्तजनहरुका लागि एक धार्मिक स्थल पनि हो। फेवातालको बिचमा रहेको तालवराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा परिचित छ। जहाँ दिनहुँ हजारौं भक्तजनहरु पूजा आराधना गर्न आउने गर्दथे र त्यही मन्दिर परिसरमा बसेर फेवातालको चारैतिर दृश्यावलोकन गर्दै फेवा सुन्दरताको रस्वादन गर्ने गर्दथे तर काहा गए होलान ती भक्तजनहरु? तालवराही मन्दिर दर्शनका लागि आवतजावत गर्ने डुङ्गा आजभोली खाली देखिन्छ। तालको बीच भागमा रहेकाले डुङ्गामा मात्रै जान सकिने यो मन्दिरमा जाँदा डुङ्गाको मज्जा लिने पर्यटकहरु कता गए?

डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन सायद तर फन्को लगाउने ती डुङ्गाहरु खाली देखिन्छ आजभोली। शिव परियारले गाएको गीत, फेवातालमा साईंली डुङ्गा सरर…।

गाउदै फेवातालको फन्को लगाउने व्यक्तिहरु कता गए ? कति धेरै प्रश्नहरु उब्जिन्छन मनमा तर ती प्रश्नहरुको जवाफ एउटै छ, कोरोना। कोरोनाका कारण पोखराका ब्यवसायीहरु पनि उत्तिकै चिन्तित छन जती चिन्तित हामी फेवाताल देखेर भयौं। पोखराका ब्यापारिक क्षेत्रहरुमा केही भिडभाड देखिए पनि फेवाताल सुनसान छ। आखिर यो कहिले सम्म ? यसको जवाफ कोहीसँग छैन। अनुत्तरित प्रश्नहरुले उत्तर चाडैँ पाउन्।

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *