फर्केर हेर्दा २०७७ : कोरोना बाहेकका रोग कम देखिएको वर्ष

तर्कबहादुर थापा
१ वैशाख २०७८ ७:२७

काठमाडौं। हामीे वि.स. २०७७ लाई विदाइ गरेर २०७८ को आगनीमा छौं। कोरोनाका कारण झण्डै ठप्पै भएको २०७७ ले समाजमा अमेटखालका छापहरु छोडेर गएको छ।

विश्वभरबाट २०७७ सालमा २९ लाख ७१ हजार बढीको ज्यान गएको छ। एउटै महामारीका कारणले विश्वभरमा करिव ३० लाख मान्छेले प्राण त्याग गर्नु पर्यो।

नेपालमा पनि कोरोनाका कारण ३ हजार बढीले ज्यान गुमाए। एउटै महामारीले १ वर्षमा ३ हजार ५८ जनाको ज्यान लिएको छ। २०७७ साल आफू विदाई हुँदै गर्दा मंगलबार पनि ५ जनाले कोरोनाका कारण ज्यान गुमाउनु पर्यो।

कोरोना बाहेकका रोगहरु कम देखिएको वर्ष

जनस्वास्थ्य विज्ञका अनुसार २०७७ मा कोरोना बाहेकका रोगहरु कम देखिएका छन्। कोरोनाका कारण गतवर्ष साउनसम्म भएको लकडाउन र त्यसपछि पनि मानिसबाट हुने वातावरण प्रदुशणका कामहरु कम भउकाले पनि अन्य रोग कम देखिएको जनस्वास्थ्य विद् रवीन्द्र पाण्डे बताउँछन्।

‘हामी घरबाहिर कम निस्क्यौं। निस्के पनि मास्कको प्रयोग गर्ने गर्यौं।’ डा. पाण्डेले भने, ‘त्यो भएर पनि २०७७ सालमा कोरोना बाहेकका रोगहरु कमै मात्रामा देखिए।’

हाम्रो देशमा सबैभन्दा बढी लाग्ने झाडापखला, रुगाखोकी, औलो जस्ता थु्प्रै रोगहरु २०७७ मा कम देखिएको डा. पाण्डेको भनाइ छ। पाण्डेले भने, ‘कोरोनाको प्रभावका कारण पनि अन्य रोगहरु गौण भए होलान्।’

हिंसामा पनि चर्चामा रहेको वर्ष

वर्ष २०७७ साल हिंसाका घटनाका कारण पनि निकै चर्चामा आयो। २०७७ सुरु भएको एक महिनामै रुकुममा ६ जनाको ज्यान जानेगरी घटना भयो। जेष्ठ महिनामा रुकुमको चौरझहारीका नवराज विकसहित ६ जनाले अकालमा ज्यान गुमाउनु पर्यो।

यस्तै, असोज महिनामा बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकले पनि ज्यान गुमाउनु पर्यो। बलात्कार पछिको हत्या जस्तो जघन्य अपराधका कारण उनले ज्यान गुमाउनु पर्यो।

कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याए नपाउँदै बैतडीकी भागीरथी भट्टको पनि २०७७ सालमै हत्या भयो। भागीरथी, सम्झना कामी जस्तै धेरै बालिकाहरु २०७७ सालमा बलात्कार जस्तो जघन्य अपराधका कारण मारिनु पर्यो।

महोत्तरीकी ६ वर्षीया बालिका पनि बलात्कार पछि हत्या जस्तो जघन्य अपराधको सिकार भइन्। मकवानपुरकी ४ वर्षीया रुवीना पाख्रिन पनि बलात्कार पछि हत्या भएकै अवस्थामा भेटिएकी थिइन्।

नेपाल प्रहरीका अनुसार, एक वर्षमा एक हजार भन्दा बढी बलात्कारका घटना बहिर आएका छन्। प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरका अनुसार ११ दशमलब २१ प्रतिशत बलात्कारका घटनामा आफन्त संलग्न भएको पाइएको छ।

कुँवरका अनुसार चार सय ४७ वटा व्यक्ति हत्याका घटनाहरु भएका छन्। यसैगरी आत्महत्याका ४ हजार ४ सय ८३ वटा घटना र बलात्कारका एक हजार ६ सय ५३ छन्। व्यक्ति हत्या २१.१३, बलात्कार १५.६७ र आत्महत्याका घटना २६.८५ प्रतिशतले बढेको हो।

सरकारले शिक्षा क्षेत्रमा फड्को मार्ने अवसर गुमाएको वर्ष

शिक्षाविद् डा. विद्यानाथ कोइराला २०७७ मा सरकारले शिक्षा क्षेत्रमा फड्को मार्ने अवसरबाट सरकार चुकेको बताउँछन्। कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि शिक्षकहरु घरघरमा गएर विद्यार्थीलाई शिक्षा दिएको डा. कोइरालाले बताए।

डा. कोइरालालले भने, ‘कतै राम्रा कतै नराम्रा पक्षहरु त होलान। तर, सरकारले शिक्षा क्षेत्रमा विकास गर्न सकिने अवसर आएको थियो त्यो गुमाएको छ। कतिपय शिक्षकहरुले कापीमा लेखेर विद्यार्थीको घरघरमा गएर पनि पढाए तर, सरकारले शिक्षकलाई शिक्षाका निमित्त आह्वान नै गर्न सकेन।’

‘कोरोना महामारीकै अवस्थामा पनि आन्दोलन भए। पार्टीहरु विभाजित भए, आमसभा गरे, जनता सडकमा उतारे तर, कसैले विद्यार्थीको बारेमा बोलेको सुन्नु भयो। कसैले बोलेन। न सरकारले न प्रतिपक्षी वा विरोधिहरुले’ डा. कोइरालाले भने।

सरकार शिक्षाका लागि गम्भिर नभएको आरोप डा. कोइरालाले लगाएका छन्। उनले भने, ‘हामीसँग अनेकौं क्षमता भएका शिक्षकसाथीहरु हुनुहुन्छ। उहाँहरुको हरेकको सिकाउने तरिका फरक फरक छ। खै यस्तो बिशम परिस्थितिका बेला विद्यार्थी सिकाइको राम्रो सुत्र बनाउने शिक्षकलाई सम्मान गर्छौं भनेको। सरकारले शिक्षकहरुलाई उत्प्रेरण दिएको खै? सरकारले शिक्षकलाई तपाईँले तलब खानु भएको छ। विद्यार्थीलाई पढाउने जिम्मेवारी तपाईँको हो भन्ने आभास गराएको खै ? यसैले मेरो विचारमा सरकार शिक्षा क्षेत्रमा गम्भिर छैन। शिक्षा क्षेत्रमा फड्को मार्ने अवसर गुमाएको छ।’

इतिहासमै पहिलो पटक पशुपति बन्द भएको वर्ष

इतिहासमै पहिलो पटक पशुपतिनाथको मन्दिर ९ महिना बन्द रह्यो। नेपालमा सरकारले लकडाउन गरेको चैतमै बन्द भएको पशुपतिनाथको मन्दिर २०७७ को पुषमा मात्र खुलेको थियो।

करिव ५० वर्षदेखि पशुपतिक्षेत्रमा बस्दै आएका ७५ वर्षका शम्भुप्रसाद घिमिरेले आफूले पशुपतिनाथको मदिर बन्द भएको भन्ने यो भन्दा पहिला कहिलै नसुनेको बताए। उनले भने, ‘म ५० वर्ष भयो त्यहाँ बस्न लागेको। अहिले ७५ वर्षको उमेर भयो। बुबा हजुरबुबासँगबाट पनि कहिलै पशुपतिनाथ बन्द भयो भन्ने सुन्न पाइएन। बरु ठूलाठूला महामारी भएका बेला पशुपतिनाथको पूजाआजा गर्ने चलन थियो।’
‘२०७२ सालको भूकम्पका बेला पनि संकट आएको थियो। बन्द भएन। बरु हामीले पूजाआजा धेरै गर्यौं। भूकम्पको संकटबाट चाडैँ मुक्ति पाइयो। अब अहिले त बन्द गरेर राखे’ घिमिरेले भने।

एउटा नेताको जति धेरै समर्थक र भोटर भयो त्यतिनै शक्तिशाली हुन्छ भन्ने उदाहरण दिँदै घिमिरेले भने, ‘शक्तिपिठहरुमा पनि जति भक्तजनहरुको भीड लाग्यो त्यतिनै शक्तिशाली हुने हुन्छन्। त्यो कुरा विर्सियो। हाम्रो धर्मसंस्कृति र संस्कारमाथि नै प्रहार भएजस्तो लाग्छ मलाई त।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *