आइपिएल रोकियो, स्वदेश फर्के जेल ! अस्ट्रेलियाका खेलाडीले घर फर्किन निकाले ‘आइडिया’

डिसी नेपाल
२२ वैशाख २०७८ १४:१३

काठमाडौं। यता इण्डियन प्रिमियर लिग बन्द हुने र उता अस्ट्रेलिया सरकारले भारतमा रहेका आफ्नै नागरिकलाई समेत स्वदेश फर्किन प्रतिबन्ध लगाएपछि संकटमा परेका अस्ट्रेलियाका खेलाडीहरुले स्वदेश फर्किन नयाँ ‘आइडिया’ निकालेका छन् । उनीहरुले भारतबाट पहिले माल्दिभ्स जाने, त्यहाँ क्वारेन्टाइनमा बस्ने, त्यहीँ परीक्षण गराउने र नेगेटिभ रिपोर्ट लिएर माल्दिभ्सबाट उडेर अस्ट्रेलिया जाने तयारी गरेका छन् ।

इएसपिएन क्रिकइन्फोका अनुसार खेलाडी, कोच र कमेन्टेटर गरेर ४० जना आइपिएलको बायो बबलभित्र छन् । अस्ट्रेलिया सरकारले भारतमा रहेका आफ्नै नागरिकलाई स्वदेश फर्किन प्रतिबन्ध लगाएको छ । उनीहरु अहिले घर फर्किए उनीहरुलाई आफ्नै सरकारले जेल समेत हाल्न सक्छ । अस्ट्रेलियालाई तीन पटक विश्वकप जिताउने पूर्वकप्तान रिकी पोन्टिङसहित पूर्वकप्तान स्टिभ स्मिथ, स्टार ब्याट्सम्यान डेभिड वार्नर, ग्लेन म्याक्सवेल, प्याट कमिन्सजस्ता राष्ट्रिय टिमका सदस्य र कोच साइमन केटिचसमेत अहिले भारतमा छन् ।

खेलमै प्रत्यक्ष संलग्न हुने खेलाडी र कोच मात्रै पनि धेरै छन् । चेन्नइ सुपर किंग्समा जेसन बेहान्ड्रफ र माइकल हसी, दिल्ली क्यापिटल्समा रिकी पोन्टिङ, स्टिभ स्मिथ, मार्कुस स्टोइनिस र जेम्स होप्स, कोलकाता नाइट राइडर्समा प्याट कमिन्स, बेन कटिङ र डेभिड हसी, मुम्बइ इण्डियन्समा नथान कुल्ट र नाइल र क्रिस लिन, पंजाब किंग्समा मोइस हेनरिक्स, झि रिचार्डसन, राइली मेरेडिथ र ड्यामियन राइट, बैंगलोरमा ग्लेन म्याक्सवेल, ड्यानियल क्रिस्चियन, ड्यानियल साम्स, साइमन केटिच र आडम ग्रिफिथ तथा हैदराबादमा डेभिड वार्नर, टम मूडी, ट्रेवर बेलिस र ब्राड हेडन छन् ।

आइपिएलबाट केही अस्ट्रेलियाली खेलाडी नाम फिर्ता लिएर गइसकेका छन् । आइपिएलको यो सिजनमा १४ अस्ट्रेलियाली क्रिकेटर आइपिएलमा खेलिरहेका छन् । म्याथ्यु हेडन, ब्रेट ली, लिजा स्टारलेकजस्ता पूर्व खेलाडीले आइपिएलको कमेन्ट्री गरिरहेका छन् । सिड्नी मर्निङ हेराल्डका अनुसार शुक्रबार राती नाइन न्यूजले सरकारले अहिले भारतबाट अस्ट्रेलिया जानुलाई अपराध मानेको खबर दिएको थियो । समाचार अनुसार भारतबाट अस्ट्रेलिया जानेलाई ६६ हजार डलरसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुन सक्छ ।

भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण अत्याधिक फैलिएपछि अस्ट्रेलिया सरकारले यस्तो कठोर निर्णय गरेको हो । अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले भने ‘नयाँ प्रतिबन्ध ३ मेदेखि लागू हुनेछ । यो प्रतिबन्धको उल्लंघन गर्नेलाई ५ वर्ष जेल र भारी जरिवानाको सजाय हुनेछ ।’ भारतमा करिब ९ हजार अस्ट्रेलियाली नागरिक छन् । यसअघि अस्ट्रेलियाले भारतबाट जाने सबै उडानलाई १५ मेसम्मका लागि स्थगित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *