कोरोना कहर : स्थानीय सरकारको सकस र धुलिखेलको तयारी

तर्कबहादुर थापा
२९ वैशाख २०७८ ७:३०

काठमाडौं। ‘उदाहरणका लागि ५० वर्ष उमेरको व्यक्ति प्रि–लक्षणसहित आइसोलेसनमा पुगेपछि के गर्नु हुन्छ?’ नगरपालिकाको हलमा धुलिखेल अस्पतालका कम्युनिटी डिपार्टमेण्ट प्रमुख डा. दिपेश ताम्राकार उपस्थित नर्स तथा डाक्टरहरुलाई शिक्षकले कक्षामा सोधे झैं सोधिरहेका थिए। उपस्थित डाक्टर तथा नर्सहरुको जवाफ सुनेपछि डा. ताम्राकारले पनि जवाफ फर्काए, ‘सेफ्टी फस्र्ट, पहिला आफू सुरक्षित हुन पर्यो’

माथि उल्लेख गरिएको दृष्य धुलिखेल नगरपालिकाले आयोजना गरेको कोभिड १९ व्यवस्थापन तथा नियन्त्रणका लागि आइसोलेसन सम्बन्धि स्वास्थ्य सुरक्षा तालिमको हो। कोरोना महामारीको दोश्रो लहरले आफ्नो भयानक रुप देखाइरहँदा स्थानीय सरकारलाई सकस भइरहेको छ। सकेजतिको आइसोलेसने सञ्चालन र व्यवस्थापनमा जुटेका छन्।

जनप्रतिनिधि र स्वास्थ्यकर्मीको काम मानव सेवाका लागि हो : नगर प्रमुख ब्याञ्जु

आइसोलेसनमा खटिने डाक्टर तथा नर्सलाई उत्प्रेरित गर्नका लागि नगरपालिका तयार रहेको बताउँदै कार्यक्रममा नगर प्रमुख अशोककुमार ब्याञ्जुले मानव सेवाका लागि काम गरेको सम्झिनु पर्ने बताए। उनले भने, ‘वास्तविक जनप्रतिनिधि र स्वास्थ्यकर्मी भनेका जनताका प्रत्यक्ष सेवक हुन्। हाम्रो मनमा कतै न कतै जन सेवाको भावनाले गर्दा हामी यो क्षेत्रमा आएका हौं।’

‘नगरपालिकाले यहाँहरुको कामको उच्च मुल्याङ्कन गर्छ, त्यो कुरामा ढुक्क हुनुहोस्,’ नगरप्रमुख ब्याञ्जुले भने, ‘तर, पैसाकै लागि यहाँहरुले लाखौं खर्च गरेर डाक्टर जस्तो गरिमामय पेशामा लाग्नु भएको हो भन्ने मलाई लाग्दैन। लाखौं खर्च गरेर काठमाडौंमा ब्यापार गर्नु भएको भए आज काठमाडौंमै घर बनाइसक्नु हुन्थ्यो होला, जुन पेसा समात्नु भयो कतै न कतै यहाँहरुमा पनि मावन सेवाको भावनाले बास गरेको छ। त्यो अन्तरमनलाई जनसेवामा तल्लिन हुन दिनुहोस्।’

नगरबासीको जनस्वास्थ्यका लागि केही र कोहीसँग पनि सम्झौता नगर्ने नगर प्रमुख ब्याञ्जुको भनाइ छ। अहिले देशभर हाहाकार भएको अक्सिजनको पनि धुलिखेलमा कमी नहुने उनले आश्वस्त पारे। ‘पहिला काभ्रेलाई त्यसपछिमात्र अन्य जिल्लाका लागि भनेका छौं,’ उनले भने, ‘धुलिखेलमात्र नभएर सिंगो काभ्रेमा नै अक्सिजनको कमी हुँदैन। तपाईँहरु ढुक्क भएर कसुरी हुन्छ तपाईँसम्म पुगेका व्यक्तिको जीवन रक्षागर्न तर्फ लाग्नुहोस्।’

आइसोलेसन सञ्चालनमा कमजोरी नहोस भन्नका लागि तालिम सञ्चालन गरिएको हो : स्वास्थ्य शाखा प्रमुख केसी

आइसोलेसनमा काम गर्ने डाक्टर तथा नर्सलाई ओरियन्टेसन तालिम दिन जरुरी ठानेकाले यो तालिम संचालन गरिएको बताउँछन् नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी। डिसी नेपालसँग कुराकानीमा केसीले भने, ‘पहिलो लहरमा पनि हामीले तालिम दिएर नै आइसोलेसन सञ्चालन गरेका थियौं। दोश्रो लहर आउँदा पनि आइसोलेसन सञ्चालनका लागि तालिम सञ्चालन गरिरहेका छौं।’

दोश्रो लहरको कोरोनाबाट नगरबासी संक्रमित हुन थालेपछि ५० बेड अक्सिजनसहितको आइसोलेसन बनाएको उनले जानकारी दिए। उनले भने, ‘हामी तत्काल थप्न सक्ने गरी तयारी अवस्थामा छौं। आवश्यक परेको खण्डमा १ सय बेडको आइसोलेसन बताउछौं। तर, अहिले ५० बेडको मात्र बनाएका छौं।’

नगरबासीका लागि २ वटा एम्बुलेन्सहरु तयार अवस्थामा रहेको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिए। केसीका अनुसार आइसोलेशन पनि निःशुल्क उपलब्ध हुने छ। जनताको स्वास्थ्य नै नगरको प्रमुख कर्तव्य भन्ने उद्देश्यसहित एम्बुलेन्स सेवा, २४ घण्टा कन्सलटेन्ट र सुविधासम्पन्न आइसोलेसनको व्यवस्था गरिएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *