सरकारले नै दिने साहित्यिक पुरस्कारमा पनि विकृति छ : विश्वविमोहन श्रेष्ठ

तर्कबहादुर थापा
१ जेठ २०७८ ७:३५
420
Shares

नेपाली साहित्यमा चर्चित नाम हो विश्वविमोहन श्रेष्ठ। २०१३ सालमा तेह्रथुममा जन्म लिएका साहित्यकार श्रेष्ठले २०२४ सालको बालदिवसको अवसरमा आयोजित साहित्यिक कार्यक्रममा प्रथम स्थान हासिल गरेपछि लेखन यात्रा सुरु गरे।

२०२७ सालमा तेह्रथुमबाट नै प्रकाशित हुने साहित्यिक पत्रिकामा कविता प्रकाशित भएपछि उनको प्रकाशनले औपचारिकता पायो। २०३२ सालमा तत्कालीन राजकीय प्रज्ञा प्रष्तिष्ठानले आफ्नो जन्मोउत्सवमा वर्षेनी आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवमा श्रेष्ठको कविताले दोश्रो स्थानको पुरस्कार प्राप्त गरेपछि हालसम्म निरन्तर यात्रा जारी रहेको छ।

श्रेष्ठका थुप्रै कविताहरु प्रकाशित छन्। कृतिको रुपमा २०४४ सालमा प्रज्ञा प्रतिष्ठानले निकालेको विश्वविमोहनका केही कविताहरु (कविता संग्रह), त्यसपछि २०६२ सालमा साझा प्रकाशनबाट एउटा गन्तव्यको खोजी (कविता संग्रह) र अङ्गारका धमिला धर्साहरु (कविता संग्रह) प्रकाशित भए।

औलाका धमिला धर्शाहरु (कथा संग्रह ) अंग्रजी भाषामा पनि प्रकाशित भएको छ। उनै साहित्यकार श्रेष्ठसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

निषेधाज्ञा छ, पछिल्ला दैनिकी कसरी बित्ने गरेका छन्?

यस्तो अवस्थामा पनि डिसी नेपालले साहित्यका पाठक र श्रष्टाहरुलाई हौसला प्रदान गर्ने गरी जुन कार्यक्रम ल्याएको छ, एकदमै खुसी छु र धन्यवाद पनि दिन चाहन्छु। श्रष्टाहरु पनि अरु मानिसजस्तै हुन्, उनीहरुलाई पनि रोजीरोटीको आवश्यक्ता छ। त्यसमाथि यो त्राहीत्राही अवस्था छ, आफूलाई, जनिकका मान्छेलाई, छरछिमेकलाई कसलाई कतिबेला के हुने हो भन्ने कुराले सताइरहेको अवस्था छ।

मलाई पनि लागेको र साथीहरुबाट पनि सुनेको कुरा कोरोनाको त्रासले पनि होला रचनात्मक जाँगरहरु देखिरहेको छैन। यतिखेर केही कल्पना गर्न बस्यो, केही लेख्न बस्यो भने अहिलेको परिस्थितिले समात्दो रहेछ। लेखेको छैन भन्दा लेखिरहेको छु, लेख्ने जाँगर र हुटहुटी पनि छ, तर लेखेँ भनेर गर्व गर्न लायक लेखिएको छैन।

महामारीले आतंकित मनबाट राम्रो सृजना सम्भव भएन भन्ने यहाँको भनाइ हो?

सृजनामा पनि आतंकको छाप छ। भित्रसम्म पनि त्यो छापले छोडेको छैन। यो बेला नयाँ कुरा खोज्नु भन्दा पनि दुःख, पीडा, छटपटीको सृजना आइरहेका छन्। त्यो सुनाउने अवस्था पनि छैन, मानिसलाई यो महामारीसँग लड्न सक्ने हौसला मिलोस्, जाँगर आवस भन्ने खालको सृजनाहरु आएका छैनन्।

कहरको अध्यारो हटेर जाने छ, भोलि फेरि उज्यालो आउने छ, भोलि फेरि लेखौंला, भोलि नयाँ नयाँ आशा पलाउला भन्न पनि सकिने अवस्था छैन। मैले कि त आशाका विषय लेखौं कि त मौन बसौं भन्ने सोचेको छु। यस्तो बेलामा राम्रो सृजना त कसरी सम्भव हुनछ र?

एक वर्ष भरी रहेको कोरोना महामारीले नेपाली साहित्य जगतलाई कति असर गर्यो?

असर त निश्चय नै गर्यो। तर, दुःख मान्नु पर्ने निराश हुनु पर्ने समय चाहिँ आएन। अघिल्लो चैत महिनादेखि राम्राराम्रा कृतिहरु पनि सार्वजनिक भएका छन्। ती कृतिहरु विमोचित पनि भए। कृतिहरुमाथि विमर्श पनि भयो।

साहित्यका सबै विधाहरु माथि पनि विमर्श भयो। तर, कुरा के भने बन्दको बेलामा त्यसरी छापिएका मुल्यवान कृतिहरु पनि प्रचारप्रसारमा निकै कमी आए। त्यसदेखि बाहेक पनि नेपाल भाषा र साहित्यका श्रष्टाहरुलाई निरास भै हाल्नुपर्ने, लौ बर्बाद भयो भनिहाल्नु पर्ने अवस्था रहेन।

सरकारले के गर्यो गरेन त्यसको मूल्याङ्कन गर्दै गरौंला। तर, केही निजी साहित्य संस्थाहरु छन्, प्रज्ञा प्रतिष्ठान छ। सबै श्रष्टाको जीवन प्रति मौन भएको देख्दा मलाई आश्चार्य लागेको छ। लेखक, श्रष्टा र प्राज्ञहरुलाई यो संकटको बेला राहत दिन सक्थ्यो। यो बडो पीडादायी कुरा हो।

अहिलेको पीडालाई पनि सुखमा घोलेर नयाँनयाँ कृतिहरु जन्मिने छन् भने अपेक्षा कायम नै छ। नेपाली साहित्य र वाङ्गमय प्रति रुचि राख्ने श्रष्टाहरु जुन विश्वका धेरै ठाउँमा छरिएर रहनु भएको छ।

उहाँहरुले केही न केही लेखिरहनु भएको छ। यो अँध्यारो गएपछि बाहिर ल्याउनु हुने छ भन्ने अपेक्षा छ। फेरि पनि नेपाली भाषा र साहित्य विश्वका अन्य भाषा साहित्यको स्तरमा छ भन्ने कुरा प्रमाणित गर्ने छ।

नेपाली साहित्यले यसभन्दा पहिला पनि यस्ता महामारी भोग्यो होला नि!

राजनीतिक आतंकदेखि प्राकृतिक विपत्तिहरु कति भोग्यो भोग्यो नि। नजिकैको कुरा गरौं २०७२ सालको भूकम्पीय महामारी पनि नेपाली साहित्यले भोगेर आयो। त्यो मात्र नभएर नेपाली साहित्यमा कुनै महामारी भनौं वा राजनीतिक आतंकले साहित्यको ट्रेन नै परिवर्तन गरिदिएका छन्।

बम बारुदको आतंक पनि थियो, प्राकृतिक प्रकोपको पनि उदाहरण दिएँ। महामारी यो नै अन्तिम हो भन्न मिल्दैन। आउँछन् जान्छन्, कति आए र गए, कति आउलान र जालान्।

पछि सोध्नु होला नहोला, कुरो उठेपछि मैले भनिहाले। यस्तो महामारी छ। विषेश गरी अहिले अस्पतालहरुमा बेड नपाएको अवस्था, अक्सिजन नपाएको अवस्था छ, कपिय श्रष्ठाहरु आर्थिक अवस्थामा पनि कमजोर हुनुहुन्छ होला।

विरामी भएर थलिनु भएको अवस्था होला। हामीले बाहिर आ–आफ्नो पेसा तथा व्यवसायका संघ संगठनहरुले सहयोग गरिरहेको देख्न सुन्न पाउँछौं। आफूलाई साहित्यमा अग्रणी संस्था भनिनेहरु, श्रष्टाको अविभावक नै हौं भनिने संघसंस्थाहरुले पनि यो अवस्थामा कसैलाई सोधपुछ गरेको पाइँदैन।

सरकारले के गर्यो गरेन त्यसको मूल्याङ्कन गर्दै गरौंला। तर, केही निजी साहित्य संस्थाहरु छन्, प्रज्ञा प्रतिष्ठान छ। सबै श्रष्टाको जीवन प्रति मौन भएको देख्दा मलाई आश्चार्य लागेको छ।

लेखक, श्रष्टा र प्राज्ञहरुलाई यो संकटको बेला राहत दिन सक्थ्यो। यो बडो पीडादायी कुरा हो। यस्तो पीडादायी अवस्थालाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा पनि सम्बन्धित निकायले सोच्नु पर्ने बेला हो।

नेपालमा साहित्य लेखेरै बाँच्ने आधार त छैन। यस्तो महामारीमा साहित्यकारहरुका लागि कसले के गरिदिनु पथ्र्यो?

हाम्रो मुलुकमा एउटा लेखकले लेखेर जीविकोपार्जन गर्न सक्ने अवस्था नै छैन। मुस्किलले १ हजारदेखि २ हजारसम्म बिक्री हुन्छ। अपवाद मेरो कृति बिक्री धेरै भयो भन्ने पनि सुनिन्छन्, उसको सम्पर्क सुत्र कस्तो थियो।

कसरी बिक्री भयो, त्यो अलग पाटो छ। त्यसलाई कुनै समयमा हेरौँला तर, समग्रमा साहित्य बिक्री भएर बाँच्ने आधार छैन। पछिल्लो पुस्ताका लेखकहरु कुनै न कुनै अर्को पेशामा आवद्ध छन्। त्यहाँबाट आएको आम्दानीले उहाँहरुको विहान बेलुकी हात र मुखको भेट हुन्छ।

सामान्य हिसाब गर्ने हो भने पनि देशभर साढे ३ सयबढी साहित्यिक संघसंस्थाहरु क्रियाशील छन्। कहिले कहिले एउटै दिन एउटै समयमा ६/७ वटा साहित्यिक कार्यक्रमहरु पनि भइरहेको हुन्छ। जन्मजयन्ति, कृति विमोचन, पुरस्कार वितरण के के हुन्छ के के।

अहो साहित्यकारहरुको यस्तो जगजगी रहेछ। साहित्य संघसंस्थाहरु कतिधेरै हुन, कस्तो राम्रो भनेर बस्नु पर्छ। यस्तो संकटको बेला खै त कहाँ गए, लेखकहरु उपचार नपाएर बसिरहेका छन्, अस्पताल जान नसकिरहेको अवस्था छ।

कुन लेखक कहाँ छ भनेर थाह पाउनै गाह्रो परिसकेको छ। त्यसकारण स्पष्ट छ म राष्ट्रिय स्तरको संघसंस्था भन्नेहरु अगाडि आउनु पर्यो। प्रज्ञा प्रतिष्ठान छन्, उनीहरुले समन्वय गर्नु पर्यो, आफैं लाग्नु पर्यो।

साहित्यकारको कोष छ त्यो कोषलाई परिचालन गर्नु पर्यो। नयाँ कोषको स्थापना पनि गर्नु पर्यो। सामर्थवान लेखकहरु पनि छन्, जसले दिन सक्ने अवस्था छ उहाँहरुलाई पनि हुटहुट्याउनु पर्यो।

निराशाका कुराहरु जति गरे पनि सकिँदैनन्, मैले यहाँ रोक्दै यहाँको व्यक्तिगत जीवनसँग जोडिन खोजेँ, साहित्यको औपचारिक यात्रा कहिलेदेखि सुरु भयो ?

मेरो जन्म तेह्रथुममा भएको हो। विद्यालयमा हुने साहित्यकार्यक्रममा भाग लिने गर्थेँ। मलाई जानकारी भएसम्म २०२४ सालमा वालदिवसको दिन भाग लिएर म पहिलो पुस्कार पाउन सफल भएको थिएँ। त्यो मेरो जानकारीमा रहेको, र मैले थाहा पाउने औपचारिक साहित्य यात्रा थियो।

२०२७ सालमा तेह्रथुमबाट नै प्रकाशित हुने साहित्यिक पत्रिकामा मेरो रचना प्रकाशित भएको थियो। त्यहाँबाट मेरो प्रकाशनले औपचारिकता पायो र २०३२ सालमा त्यतिबेलाको राजकीय प्रज्ञा प्रष्तिष्ठानले आफ्नो जन्मोउत्सवमा वर्षेनी आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवमा मैले जिल्लाबाट नै भाग लिएको थिएँ।

दोश्रो पुरस्कार पनि पाएँ। त्यो पुरस्कार थाप्न काठमाडौं आएपछि विभिन्न पत्रपत्रिकाका सम्पादकहरुसँगको भेटघाट भयो। मैले रचना पनि दिएँ, त्यसपछि नै मेरो राष्ट्रिय स्तरमा पनि औपचारिक प्रवेश भयो।

यहाँको कलम नि गद्यमा मात्र चल्यो, पद्यमा किन कविता लेख्नु भएन ?

म पद्य पनि सुन्छु, रुचाउँछु र पढ्छु पनि । पद्यमा कविता लेख्ने कविहरुप्रति पनि मेरो उत्तिकै आदर छ। अहिले परिवारमा पनि मैले छन्द सुनाउँछु, गाउँछु पनि। जहाँसम्म छन्दमा कविता किन लेखेन भन्ने सवाल छ, मैले नलेखेको हैन।

कविता लेखेको पनि छु। तर, अभिव्यक्ति सहज हुने, मलाई लागेको हुटहुटी र गन्थनलाई व्यक्त गर्न छन्दमुक्तले जति छन्दले सहयोग गरेन कि भन्ने लाग्छ। लय भनेको गद्य हो। मेरा सबै कविताहरुमा लय छ, गद्य पनि छ।

गद्यमा लेखिएका कविता पनि शब्दका थुप्राहरु पनि छन्। पढ्दा दिक्दार लाग्ने कविता पनि छन्। जसरी गद्य कविताहरु शब्दको थुप्रो छन्, त्यस्तै पद्यमा पनि केही कविताहरु शब्द थुपारेको मात्र हुन्छन्। तर, शब्दको भण्डार भन्दा पनि कविता हुनु पर्छ पद्यमा भए पनि गद्यमा भए पनि।

नेपालमा कविताको अवस्था के छ ?

नयाँ पुस्ताका कविहरु देख्दा नेपाली साहित्यमा कविताको स्थान एकदमै उच्च छ। विश्व साहित्यमा सबै भन्दा धेरै लेखिने र छापिने कविता हो। तर, सबै भन्दा कम पढिने पनि कविता हो।

कविताले विषेश गरी चेतनालाई, हाम्रो सोच्न सक्ने क्षमतालाई, बिचार गर्ने शैलीलाई, जुन संस्कार दिएको किमार्थ पनि कम छैन। नभए यतिका वर्षदेखि कविता लेख्नु पर्ने, कवितालाई पढ्नु पर्ने, कवितलाई परीक्षामा विश्लेषण गर्नु पर्ने केही पनि आवश्यक्ता हुने थिएन।

यसभित्र केही पक्कै पनि छ। केही छ र त यो जीवित छ, छ र त यो लेखिइरहेको छ। त्यसकारणले यो कुरालाइ पनि हामीले गम्भिरताका साथ लिनु पर्छ।

साहित्यकारहरुकै अभिव्यक्तिलाई सापटी लिँदा नेपाली साहित्यमा पाउने पुरस्कारहरु ऐंचोपैंचोमा हुन्छ। यहाँको बिचार के छ ?

न सुनिएको हैन, न देखिएको पनि हैन, यही पेसामा लागि परेका कारण नजिकबाट देखेका र भोगेका छौं। तर, यही कुरालाई माध्याम बनाएर सबै पुरस्कारहरु साटासाट गरिन्छ र सेटिङमा दिइनछ भन्ने पनि छैन। तर, पुरस्कार दिने निकायहरु प्रायोजित भएको पाइन्छ। एउटै निकाएले दिने एउटै पुरस्कार पनि बाँडेर दिएजस्तो छनक पाइन्छ।

राज्यको सर्वोच्च निकायले वर्षमा एक पटक दिने पुरस्कारमा पनि विकृति देखिएको छ। यो वर्ष एउटा लेखकलाई एउटा विधामा सम्मान गर्यो। अर्को वर्ष पनि सोही लेखकलाई अर्को विधामा सम्मान गरिन्छ।

पहिलो पटक र दोश्रो पटकमात्र होइन्, तेश्रो पटक पनि फेरि त्यही लेखकलाई तेश्रो विधामा सम्मान गरिन्छ। कवितामा, कथामा, उपन्यासमा पाइएको पुरस्कार होइन्, आफ्ना भएर पाएका पुरस्कार हुन्।

न पाउँदासम्म एकपक्षीय भयो भन्छन्, सत्तामा भएकाले पाए भन्छन्। उसले आफ्ना कार्यकर्ता, नजिकका मान्छे, हनुमानलगायतलाई दियो भन्छन्। अनि आफ्नो पनि पालो आउँछ, आफ्ना मान्छे पनि ठाउँमा छन्, आफ्नो पनि सम्पर्क छ अनि आफूले पनि त्यही गर्ने, दोहोर्याइ, तेहेर्याइ लिन्छन्। यो विकृतिको पनि हद हो। यसो भन्दा राज्यले लेखकलाई सम्मान नै नगर्ने भन्ने हुँदैन। निष्पक्ष हुनु पर्छ, विकृति हुनु भएन भन्ने हो।

नेपाली साहित्यमा तत्काल खड्किएको कुरा के हो?

लेखकका कृतिहरुलाई प्रकाशन गर्ने, आम पाठकहरुको हातमा पुर्याउने सञ्जाल, परिपाटी, व्यवस्थाको जरुरी छ त्यो अत्यन्त जरुरी छ। हामीकहाँ साझा प्रकाशन भन्ने छ। अहिले त्यो पनि दुर्बल भयो, सक्षम भएन त्यो आन्तरिक चपेटामा छ। त्यस्तै संस्थाको आवश्यक्ता छ।

काठमाडौंमा निक्लेका पुस्तक पूर्वको दूर दरज र पश्चिमका दूर दराजमा रहेका श्रष्टा र पाठकले पढ्न पाउने व्यवस्था हुनु पर्यो। ती दूर दराजमा बसेर साधना गर्ने श्रष्टालाई सिंहदरबारले पनि सम्मान गर्नु पर्यो।

सिंहदरवार राजनीति गर्नेले टेक्ने थलो मात्र हुन भएन्, त्यो साहित्यकारहरुले पनि अपनत्व लिन सक्ने ठाउँ हुनु पर्यो। त्यो तेह्रथुमको लिम्बुभाषामा गाउने लोक गायक होस् वा सुदूरपश्चिमको देउडा गाउने गायक होस् त्यसले पनि सिंहदरबारलाई आफूले पाइला टेक्ने ठाउँ बनाउन सक्नु पर्छ।

राम्रो साहित्यकार बन्नका लागि के हुनु पर्छ ?

राम्रो साहित्यकार बन्न आफूले लेख्ने मात्र होइन्, अरुले लेखेको पनि पढ्नु पर्यो। संसारमा अहिले लेखनमा आएका ट्रेन पनि हेर्नु पर्यो। अध्ययन गर्ने बानीको विकास गर्नु पर्यो।

आफू भन्दा अगाडिको पुस्तालाई पढ्ने र पछिल्लो पुस्ताले गरेको सृजनालाइ पनि सम्मान र प्रेम पूर्वक लिनसक्छु पर्छ। मैले मेरो आत्म सन्तुष्टिका निम्ति होइन्, चेतना र सम्चेतनाको निम्ति दीप प्रज्वलित भएजस्तै केही गर्नु पर्छ भन्ने सत्यलाई स्वीकार्नु पर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *