शुक्लागण्डकीमा मोबाइल रक्तदान अभियान
तनहुँ । निषेधाज्ञाको समयमा रगतको अभाव हुँदै जान थालेपछि शुक्लागण्डकी नगरपालिकामा मोबाइल रक्तदान अभियान सञ्चालन गरिने भएको छ । दुलेगौँडास्थित शुक्लागण्डकी एफएम, लियो क्लब अफ दुलेगौँडा, खैरेनी सिटी र युवा नेपाल समिति तनहुँको बिहीबार बसेको बैठकले संयुक्तरूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीमा ठुलो सङ्ख्यामा रक्तदाताहरु जम्मा गराएर कार्यक्रम गर्न सकिने अवस्था नरहेकाले मोबाइल भ्यानमार्फत नगरका विभिन्न स्थानमा पु¥याएर रक्तदाताबाट रगत सङ्कलन गर्ने निर्णय गरिएको युवा नेपाल समितिका ऋतु भुवाईले जानकारी दिए ।
विभिन्न अस्पताल तथा क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र पोखराले रगत अभावमा सुत्केरी महिला, दीर्घ रोगी र मिर्गौलाका नियमित डायलाइसिसका बिरामीले कठिनाइ भोग्नुपरेको बताएपछि उक्त अभियान थालिएको उनले बताए ।
शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले नगरपालिकाको कोत्रे, गाछेपानी, दुलेगौँडा, ढोरफिर्दी, खैरेनीटार, बेलचौतारा र खैरेनीटारमा कार्यक्रम गरि ३० युनिट रगत सङ्कलन गर्ने लक्ष्य राखिएको जानकारी दिए । इच्छुक रक्तदाताहरुले व्यक्तिगत वा पाँच जनाको समुह बनाएर मोबाइल भ्यान बोलाउन सकिने उनले बताए।
निषेधाज्ञाका कारण नियमितरूपमा रक्तदान हुन नसकेकाले रगतको अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए । पोखराका विभिन्न ठाउँमा मोबाइल भ्यान लगेर केही मात्रामा सङ्कलन गरिरहे पनि पर्याप्त नभएको उनले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment