चार मन्त्री बर्खास्तपछि मुख्यमन्त्री राउतले गरे कार्यविभाजन, भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखे

डिसी नेपाल
२४ जेठ २०७८ ६:४२

धनुषा। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई बर्खास्त गरेपछि कार्यभारसमेत विभाजन गरेका छन्। जस अनुसार विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किशोर साहलाई सामाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ।

मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरेका थिए।

मुख्यमन्त्री राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका थिए।

प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन्। प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ। यसअघि भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी बर्खास्तीमा परेका जितेन्द्र सोनलले सम्हाल्दै आएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *