पत्रकार पत्नीलाई उपचारका लागि सहयोग

डिसी नेपाल
१५ असार २०७८ २१:२६
76
Shares

सप्तरी । राजविराजमा गठित मानव निगरानी समूहले आफ्नो बैठक खर्चको रकम पत्रकार पत्नीलाई उपचारका लागि प्रदान गरेको छ ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूहको बैठकको चियानास्ता खर्च वापत जम्मा भएको पाँच हजार राजविराज–९ मलेठका स्वर्गीय उपेन्द्रनारायण मेहताको पत्नी सियावती मेहतालाई प्रदान गरेको हो ।

इन्सेक प्रतिनिधी मनोहर पोखरेल र समूहका सदस्यको उपस्थितिमा अध्यक्ष रघुबर साहले उक्त रकम मलेठ स्थित घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गरेका हुन् ।

उपचार खर्चको अभावमा घरमै बसेकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताइन् । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उनले जानकारी दिइन्। उनको श्रीमान पत्रकार एवम् निगरानी समूहका सदस्य मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।

गाउँमै सबैभन्दा कमजोर आर्थिक अवस्थामा रहेको उनको श्रीमानको मृत्युपछि असहाय बनेको स्थानीय स्थानीयले बताए ।
इन्सेक सप्तरीको प्रतिनिधीको कार्यालयमा गत असार १० गते बसेको निगरानी समूहको वैठकले सहयोग रकम प्रदान गर्ने निर्णय गरेअनुसार उनको घर पुगेर रकम हस्तान्तरण गरिएको सहजकर्ता दिपक यादवले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *