बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, ७१ जना घाइते र २९ जना बेपत्ता
काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन्।
तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३–३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २–२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जना रहेका छन्। पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये दार्चुलामा ३ जना, पाल्पामा २ जना तथा तनहुँ र दाङमा १–१ जना गरी जम्मा ७ जना रहेका छन्।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७१ जना घाइते भएका छन्। तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेका छन्। उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा ७ जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५र५ जना, धनुषा र सर्लाहीमा ४–४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३–३ जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा २–२ जना, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा १–१ जना रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ।
बाढीपहिरोमा परी २९ जना बेपत्ता भएका छन्। तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत र तनहुँमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन्। वेपत्ताको खोजी कार्य जारी छ।
बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी (पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८–८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४–४ जना र कञ्चनपुरमा ३ जना रहेका छन्। उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो।
बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ। साथै वर्षाको कारण चितवन, बाजुरा, प्युठान, म्याग्दी र सिन्धुली लगायतका स्थानहरुमा बिहीबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ।
बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन्। ५ सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ५९ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा भएका जम्मा ५ सय ३९ वटा विपद्का घटनाबाट १ हजार १ सय ५८ वटा घर परिवारका ५ हजार ४ सय २३ जना मानिस विस्थापित भएका छन्।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।







डिसी नेपाल








Facebook Comment