चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, भौगर्भिक जोखिम कायमै
एजेन्सी। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाह जोड्ने मुख्य स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको छ। आकस्मिक उद्धार टोलीले जोखिमको जाँच गर्नुका साथै सडकछेउका भिरालो भूभागलाई मजबुत बनाइरहेका छन्।
गत अगस्ट २६ मा सिजाङको सिगात्से सहरस्थित केरुङ बन्दरगाहमा गएको पहिरोमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना अझै बेपत्ता छन्।
पहिरोका कारण नेपालसँग जोडिएको केरुङ सीमा बन्दरगाह पुग्ने एकमात्र स्थलमार्ग, चीनको जी२१६ राष्ट्रिय राजमार्गको करिब तीन किलोमिटर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा उद्धारकर्मीहरू हेलिकोप्टरमार्फत वा जोखिमपूर्ण पहाडी बाटो हुँदै घण्टौँ पैदल यात्रा गर्न बाध्य थिए।
एक सातासम्म भग्नावशेष हटाएपछि गत बुधबारदेखि सडकमा भारी उपकरण, राहत सामग्री र थप जनशक्ति लैजान सम्भव भएको छ। तर, थप पहिरो तथा अन्य भौगर्भिक जोखिम उत्पन्न हुन सक्ने आशङ्का कायमै रहेकाले अधिकारीहरूले निगरानी बढाएका छन्।
सर्वेक्षण टोलीले राजमार्गको उक्त खण्डमा सम्भावित भौगर्भिक जोखिम रहेका ५८ वटा स्थान पहिचान गरी निगरानी उपकरण जडान गरेका छन्।
राष्ट्रिय सुरक्षित उत्पादन आपत्कालीन उद्धार सर्वेक्षण टोलीका उपप्रमुख युआन युनसिङका अनुसार सडकछेउको भिरालो क्षेत्रमा रडार जडान गरिएको छ। ढुङ्गा खस्ने वा पहिरो जाने घटना भएमा तत्काल कमान्ड सेन्टरलाई जानकारी गराई यातायात नियन्त्रण तथा सफाइका काम अघि बढाइने व्यवस्था मिलाइएको छ।
सडक अधिकारीहरूले सबैभन्दा जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण तीव्र पार्दै उद्धारका सवारीसाधन सुरक्षित रूपमा आवतजावत गर्न सडकछेउका भिरालो भागलाई मजबुत बनाएका छन्।
राहत कार्यमा खटिएका चाइना रेलवे बेइजिङ ग्रुपका कर्मचारी गा रिदीका अनुसार खुकुला ढुङ्गा खस्न नदिन ड्रेपरी प्रणालीको तयारी गरिएको छ। त्यसैगरी नदीको बहावले सडक कटान नगरोस् भनेर स्टिलका ग्याबियन जाली राखिएको छ भने जलस्तर बढेमा थप जाली राख्ने गरी तयारी अवस्थामा राखिएको छ।
नेपालतर्फको सीमामा रहेको नदीको माथिल्लो क्षेत्रमा हिमनदी भत्किएपछि उक्त पहिरो गएको थियो। ड्रोन तथा रिमोट सेन्सिङ तस्बिरका आधारमा हिमनदी भत्किँदा बनेको खाल्डोको माथिल्लो र तल्लो क्षेत्रमा अहिले पानीको बहाव सामान्य रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पहिरोपछि प्युरेपू त्साङ्पोमा बनेको अवरोध ताल पनि प्राकृतिक रूपमा निकास भइसकेको छ। तल्लो क्षेत्रका साना पहिरोबाट बनेका बाँधहरूमा पानीको बहाव सामान्य रहे पनि ती पुनः भत्किएर नयाँ अवरोध ताल बन्न सक्ने जोखिम भने कायमै रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment