अमेरिकी सेनाको सबैभन्दा कडा तालिम पहिलोपटक महिलाले पूरा गरिन्
काठमाडौं। अमेरिकी सेनाको इतिहासमै पहिलो पटक कुनै महिला सेलरले स्पेसल वारफेयर कम्ब्याटेन्ट क्राफ्ट क्रुम्यान (एसडब्लुसीसी) बन्नको लागि नौसेनाको तालिम कोर्स पूरा गरेकी छिन् । यो कोर्सको तालिम ३७ हप्ताको हुन्छ । पेन्टागनको नीतिअनुसार यी महिला सेलरको नाम सार्वजनिक गरिएको छैन ।
अमेरिकी नौसेना अधिकारीहरुका अनुसार एसडब्लुसीसी कोर्स पूरा गर्ने टुकडीमा १७ स्नातक सहभागी थिए । यो कोर्स पूरा गर्नको लागि आवेदन दिनेमध्ये केवल ३५ प्रतिशतले मात्रै पूरा गर्न सक्छन् । बाँकी ६५ प्रतिशतले नसकेर यो कोर्स बीचमै छोड्छन् । युसएस नेवल स्पेसल वारफेयर कमाण्डका कमाण्डर रियर एडमिरल एचडब्लु हावर्डले भने ‘नेवल स्पेसल वारफेयर ट्रेनिङ पाइपलाइनबाट कोर्स गर्ने पहिलो महिला बन्नु एक असाधारण उपलब्धी हो । हामीलाई हाम्रो टिमका साथीहरुमा गर्व छ ।
न्यूयोर्क टाइम्सका अनुसार अहिलेसम्म कूल १८ महिलाहरुले एसडब्लुसीसी वा सील बन्नको लागि आवेदन दिएका छन् । तीमध्ये १४ जना कोर्स पूरा गर्न असमर्थ थिए । तीन जनाको प्रशिक्षण अहिले पनि चलिरहेको छ । यो कोर्समा आवेदकहरुलाई हतियारहरु र नेभिगेसनका विज्ञ बनाइन्छ । साथमा उनीहरुलाई यो पनि सिकाइन्छ कि मालवाहक विमानबाट उनीहरुले समुद्रमा आफ्नो स्पिडबोट कसरी खसाउने । प्यारासुटबाट हाम्फाल्ने प्रशिक्षण पनि यसमा हुन्छ ।
यो कोर्स पूरा गरेपछि नेवी सिल्सको ट्रेनिङ कार्यक्रमको लागि पनि एक बाटो खुल्छ ।२०१६ मा अमेरिकामा महिलाहरुलाई लडाकू भूमिकामा काम गर्न अनुमति दिइएको थियो । एसडब्लुसीसी कोर्सको समापन पनि ७२ घण्टाको हुन्छ । यसलाई टुर भनिन्छ । यसमा मानसिक र शारीरिक दुवै किसिमको परीक्षण हुन्छ । यस क्रममा चुनौतीपूर्ण माहोलमा २३ घण्टाको दौड र ५ माइल (८ किलोमिटर) पौडिएर पार गर्नुपर्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment