बनारस विमानस्थलमा गोली चल्यो, दुई जना ग्राउन्ड स्टाफ घाइते

डिसी नेपाल
३१ साउन २०८३ १३:४४

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित वाराणसी विमानस्थलमा शुक्रबार बिहान फ्रिस्किङ (जाँचबुझ/चेकिङ) का क्रममा एक यात्रुको लाइसेन्सप्राप्त रिभल्भरबाट अचानक गोली चलेको छ। प्रहरीका अनुसार उक्त घटनामा दुई जना ग्राउन्ड स्टाफ घाइते भएका छन्।

डीसीपी (गोमती) नीतु कादयानले बिहान करिब १० बजे विमानस्थलमा गोली चलेको सूचना प्राप्त भएको बताइन्। त्यसलगत्तै फूलपुर प्रहरी र उच्च अधिकारीहरूले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका थिए।

प्रहरीका अनुसार, ‘आजमगढका बासिन्दा कमलेश राय एयर इन्डिया एक्सप्रेसको उडानबाट मुम्बई जाँदै थिए। उनले आफ्नो लाइसेन्सप्राप्त रिभल्भरका बारेमा विमानस्थल अधिकारीहरूलाई पहिल्यै जानकारी गराएका थिए। तर, जाँचका क्रममा रिभल्भरबाट अचानक एक राउन्ड फायर हुन पुग्यो, जसका कारण त्यहाँ कार्यरत दुई जना ग्राउन्ड स्टाफ घाइते भए।’

घाइतेमध्येकी एक महिला स्टाफ सुमनले बताएअनुसार यात्रुहरूको हतियार स्क्रिनिङ गर्दा सुरुमा बन्दुक लोड (गोली भरिएको) छ वा अनलोड छ भन्ने हेरिन्छ। महिलाका अनुसार यात्रुले हतियार अनलोड रहेको बताएका थिए, तर त्यो लोडेड अवस्थामा थियो र देखाउने क्रममै अचानक गोली चल्न पुगेको हो।

प्रहरीले घटनाबारे नियमानुसार थप कानुनी कारबाही अघि बढाइएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *