मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

डिसी नेपाल
४ साउन २०७८ २२:४२
24
Shares

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका हुन् ।

स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिए । नवलपुरमा १५ हजार मात्रा सो खोप आएको चापागाईँले बताए । उक्त खोप मङ्गलबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जिल्लामा वितरण गरिने चापागाईँको भनाइ छ ।

नेपालमा अहिलेसम्म आएको खोपको दुई मात्रा लगाउनुपर्ने थियो भने जोन्सन एन्ड जोन्सन खोप एकपटक मात्र लगाए पुग्नेछ । खोप कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए। प्रदेशको स्वास्थ्य, शिक्षामा विशेष जोड दिँदै समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने अभियानमा आफ्नो सरकार लागिरहेको पोखरेलको भनाइ छ ।

मुख्यमन्त्रीमा निर्वाचित भएपछि पोखरेल पहिलोपटक गृह जिल्ला आएका हुन् । आइतबार गृह जिल्ला आएका मुख्यमन्त्री पोखरेलले सोमबार स्वास्थ्य कार्यालय नवलपुर, शिक्षा तथा समन्वय एकाइ कार्यालय लगायतका कार्यालयहरुको निरीक्षणसमेत गरेका थिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *