कविता : गुनासो छ बाबाआमा

डिसी नेपाल
१६ साउन २०७८ ९:४३
104
Shares

बाबा
गुनासो गर्छु है
आज थोरै भए पनि
हजुरसँग बोल्ने
साहस बटुलेर आएको छु मैले

बाबा
जब मलाई हिड्न आउँदैन थियो
हात समातेर हिँडाउनु भयो
हात छोडेर हिँड् बाबु हिँड् भन्नु भयो
भित्ता समातेर हिड्ने बेला
कसैको साहारा बिना हिँड्न सक्नु पर्छ भन्नु भयो
दौडिन सिकाउनु भयो
दौड्यौ, दौड्यौ भन्नु भयो
जब म हिड्न थालेँ
रोकिन भन्नु हुन्छ
डौडिन थालेँ
लड्ने डर देखाइ दिनु हुन्छ
अनि भन्नु हुन्छ विस्तारै हिँड भनेको नसुनेको
आमा
हजुरसँग पनि गुनासो छ मेरो
जब रुँदै आहाराको अपेक्षा गर्थे
कहिले बोल्ने होला सोच्नु भयो
तोते बाबु ताते गर्दै बोल्न सिकाउनु भयो
तोते बोलिले बोलेको प्रष्ट बुझ्नु भयो
शब्दहरुको छनोटमा अब्बल नहुँदा
शब्दा छनोटका लागि बारम्बार बोल्न लगाउनु भयो
जब म
बोल्ने भएँ
न बोल भन्नु हुन्छ
बोल्दा विग्रिन्छ भन्नु हुन्छ
जिब्रो थुतेका
करेन्ट लगाएका उदाहरण सुनाउनु हुन्छ

मैले मेरो अधिकारका लागि बोल्दा
अपमान गरको सम्झिनु भयो आमैले
आफ्नै खुट्टामा हिँड्न खोज्दा
अलग भएको सम्झिनु भयो बाबैले
जीवनभरी साथ दिन आएकी
अर्कै घरकी चेलीले
न्यानो काख छुटाएको अनुभूति गर्नु भयो
दुबै जनासँग मेरो गुनासो छ
मलाई अधिकारका लागि बोल्न दिनुस्
आफ्नै खुट्टामा चल्न दिनुस्
मलाई हजुरसँग गुनासो छ बाबाआमा
अब
मलाई नरोक्नुहोस्
लडेको ठाउँमा सानोमा उठाएझै
उठाइ दिनु होला
बोली चिप्लिएको ठाँउँमा
सुधारेर बुझिदिनु होला
नमिठो बोल्दा तोते बोली बोलेको हुनेछु
लडेको बेला अरुको साहारा नखोजेको हुने छु


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *