लियोनेल मेस्सी अब बार्सिलोना क्लबमा नरहने

डिसी नेपाल
२२ साउन २०७८ ९:४५

एजेन्सी। आर्जेन्टीनाका कप्तान अनि स्पेनी क्लब बार्सिलोनाका कप्तान ३४ वर्षीय लियोनेल मेस्सीले उक्त क्लबसँग नयाँ सम्झौता गर्ने ठानिएको थियो तर अब त्यो सम्भव नभएको सो क्लबले जनाएको छ। ‘वित्तीय एवम् संरचनागत अवरोधहरू’का कारण उनको सम्झौता नवीकरण नहुने क्लबले बताएको छ।

मेस्सीले उक्त क्लबका निम्ति १० पटक स्पेनी लिग उपाधि तथा चारपटक युरोपेली च्याम्पियन्स उपाधी जिताएका छन्। उनले बार्सिलोनाका लागि अहिलेसम्मकै सर्वाधिक ६७२ गोल गरेका छन्।

अब उनी प्यारिस सेन्ट-जर्मान (पीएसजी) क्लबमा आबद्ध हुनसक्ने ठानिएको छ। सो फ्रेन्च क्लबका आर्जेन्टीनी कोच मरिसियो पोचेटिनोको च्याम्पियन्स लिग जित्ने महत्त्वाकांक्षा छ।

जुलाई १ तारिखदेखि नै मेस्सीको बार्सिलोनासँगको सम्झौताको अवधि सकिएकाले उनी स्वतन्त्र थिए। त्यसको दुई सातापछि उनले घटाइएको ज्याला दरमा क्लबसँग नयाँ सम्झौता पनि गरेका थिए। तर उक्त सम्झौता बार्सिलोनाले उनको तलब बेहोर्नसक्ने गरी यदि अन्य खेलाडीलाई अन्यत्र बेच्न सकेको खण्डमा मात्र लागु हुनसक्थ्यो।

“खेलाडी अनि क्लब दुवैको चाहना अन्तत: पूरा नहुने भएकोमा दुवै पक्ष दुखी छ,” क्लबले भनेको छ। बार्सिलोनाले यसअघि मेस्सीले क्लबसँगको २१ वर्षदेखिको आबद्धता लम्ब्याउने भनेको थियो तर उसले यसो हुन नसक्नुमा ला लिगालाई दोष दिएको छ।

मेस्सीले सन् २०२६ सम्म सो क्लबमा रहने सम्झौता गरेका थिए तर ला लिगाले उनी वा अन्य नयाँ खेलाडीलाई दर्ता गर्नु अगाडि क्लबले ज्यालाहरू घटाउनै पर्ने सर्त राख्यो।

“लियोनेल मेस्सी तथा एफसी बार्सिलोना दुवैले एक सहमति गरेका थिए र दुवै पक्षमा नयाँ करार सम्झौतामा सही गर्ने स्पष्ट नियत हुँदाहुँदै पनि वित्तीय एवम् संरचनागत अवरोधहरू (स्पेनी ला लिगाका नियमहरू)का कारण त्यसो हुन सकेन,” क्लबले भनेको छ।

एफसी बार्सिलोना क्लबले आफू सम्पूर्ण रूपमा मेस्सीप्रति उनले गरेको योगदानका कारण अनुग्रहीत रहेको र उनको उज्ज्वल भविष्यको कामना गरेको पनि जनाएको छ।

आर्जेन्टीनी खेलाडी मेस्सी अब विश्व फुटबल जगतमा सबैभन्दा माग गरिएका खेलाडी बनेका छन्। विगतमा उनलाई फ्रेन्च क्लब पीएसजी वा इङ्ग्लिश क्लब म्यान्चेस्टर सिटीसँग जोडेर पनि चर्चा भएका थिए।

साथै अमेरिकाको मेजर लिग सकर पनि उनको अर्को विकल्पका रूपमा हेरिएको छ। एक वर्ष अगाडि मेस्सीले बार्सिलोना क्लबका मालिकहरूलाई फ्याक्समार्फत् आफू हट्न चाहेको जनाएका थिए। १३ वर्षको उमेरमा सन् २००० मा मेस्सी बार्सिलोना क्लबको चर्चित ला मासिया एकेडेमीमा सामेल भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *