नेपाली क्रिकेटको विशेष दिनमा टि–२० विश्वकपमा भारत र पाकिस्तानको भिडन्त

डिसी नेपाल
२३ साउन २०७८ १०:२१
1.6k
Shares

काठमाडौं। विश्व क्रिकेटका सबैभन्दा ठूला प्रतिद्वन्द्वी मानिने भारत र पाकिस्तान यस पटकको टि–२० विश्वकपमा भिड्ने दिन नेपाली क्रिकेटका लागि पनि विशेष हुने भएको छ । भारत र पाकिस्तान यस पटकको विश्वकपमा आगामी अक्टोबर २४ अर्थात कार्तिक ७ गते भिड्ने भएका छन् । यी दुई देशबीचको खेल युएइको दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।

यो दिन नेपाली क्रिकेटका लागि विशेष हुनेछ किनकि यस दिन पछिल्लो एक दशक नेपाली क्रिकेटको नेतृत्व गरेर नेपाललाई विश्वकपसम्म खेलाएका पूर्वकप्तान पारस खड्काको जन्मदिन हो । पूर्वकप्तान खड्काले नेपाली क्रिकेटलाई डिभिजन ५ को अवस्थाबाट नेतृत्व गर्दै विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने हैसियतसम्म पुर्याए । आइसीसीको कारवाहीमा परेको नेपाली क्रिकेट बोर्डको कारवाही फुकुवा भएसँगै कप्तानबाट राजीनामा दिएका खड्काले गएको मंगलबार मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । त्यस दिन खड्का ३४ वर्ष पूरा भएर ३५ औं वर्षमा प्रवेश गर्नेछन् ।

विश्वकप आयोजकको तयारीबारे निकट जानकारी भएको स्रोतले समाचार एजेन्सी एएनआइसँग कुरा गर्दै भारत र पाकिस्तानको समूह चरणको भिडन्त अक्टोबर २४ मा हुने पुष्टि गरेको हो । विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएइ र ओमनमा हुँदैछ । बीसीसीआइको आयोजनामा हुने यो प्रतियोगिताको समूह विभाजन आइसीसीले गत महिना मात्र सार्वजनिक गरेको थियो जसमा भारत र पाकिस्तान एउटै समूहमा छन् । नेपाल भने यो विश्वकपका लागि छनोट हुन सकेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *