युनाईटेडको विजयी सुरुवात
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शानदार जितसहित नयाँ सिजनको सुरुवात गरेको छ । शनिबार भएको आफ्नो पहिलो खेलमा लिड्स युनाईटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै युनाईटेडले उत्कृष्ट सुरुवात गरेको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे । यस्तै मासन ग्रीनउड र फ्रेडले एक एक गोल गरे । लिड्सका लुक आयलिङले एक गोल फर्काए । ओल्ड ट्राफोर्डमा खेलको ३० औं मिनेटमा पाउल पोग्बाको पासमा ब्रुनोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४८ औं मिनेटमा लुकले गोल गर्दै लिड्सलाई १–१ को बराबरीमा फर्काए । त्यसपछि खेलको ५२ औं मिनेटमा पोग्बाको पासमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए । ५४ औं मिनेटमा ब्रुनोले पोग्बाकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए ।
खेलको ६० औं मिनेटमा भिक्टर लेन्डीलोफको पासमा ब्रुनोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरी युनाइटेडलाई ४–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६८ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ५–१ को सानदार जित दिलाए ।
जितसँगै युनाईटेडले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । युनाईटेड तालिकाको शीर्ष स्थानमा रहेको छ । लिड्सले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ । लिड्सविरुद्धको खेलबाट युवा विंगर जेडन सान्चोले युनाईटेडका लागि डेब्यु गरेका छन् । सान्चो खेलको ७५ औं मिनेटमा डानिल जेम्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।







डिसी नेपाल







Facebook Comment