बाह्रखरी कथा प्रतियोगिता–२०७८ घोषणा, प्रथमले एक लाख पुरस्कार पाउने
काठमाडौं । १२खरी बुक्सले गर्दै आएको कथा प्रतियोगिताको तेस्रो संस्करण बाह्रखरी कथा प्रतियोगिता–२०७८ घोषणा गरिएको छ । आइतबार पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता घोषणा गरिएको हो ।
कथा प्रतियोगिताका मुख्य निर्णायकमा आख्यानकार तथा साहित्यकार नारायण ढकाल रहेका छन् भने कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा निर्णायक समूहको सदस्य छन् ।
कार्यक्रममा मुख्य निर्णायक ढकालले विश्व मानचित्रमा नेपाली कथाको नक्सा नभएको भन्दै बाह्रखरी कथा प्रतियोगिताले विश्व मानचित्रमा नेपाली कथाको नक्सा कोर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले देशभरका नयाँ–पुराना सबैजनालाई प्रतियोगितामा भाग लिन आग्रह गरे । विगतका प्रतियोगितामा कायम गरेको उचाइ र निष्पक्षतालाई आफू नेतृत्वको निर्णायकमण्डलले निरन्तरता दिने विश्वास पनि उनले दिलाए ।
निर्णायक लामाले प्रतियोगिता निष्पक्ष बनाउनु आफैँमा चुनौती भए पनि यसको गरिमा जोगाउन आफूले भूमिका खेल्ने बताइन् । बाह्रखरी कथा प्रतियोगिताका अघिल्ला संस्करणहरुबाट आएका कथाकारहरुको नेपाली साहित्यमा राम्रो चर्चा र उपस्थिति रहेको भन्दै यसले नेपाली कथा साहित्यको क्षेत्रमा ठूलो योगदान गरेको उनले बताइन् ।
त्यस्तै, निर्णायक पोखरेलले कथा प्रतियोगिता खासै नहुने गरेको भन्दै बाह्रखरीले यसलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताए । उनले नेपाली कथा साहित्यलाई माथि उठाउन पनि देश तथा विदेशमा रहेका सबै कथाकारहरुलाई प्रतियोगितामा कथा पठाउन आग्रह गरे ।
बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले उपस्थितलाई प्रतियोगिताबारे जानकारी गराउँदै स्वागत गरेका थिए । बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले कोरोना संक्रमणको कठिन अवस्थामा पनि बाह्रखरी मिडियाले प्रतियोगितालाई निरन्तरता दिएको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ६० हजार र तृतीय हुनेलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । पत्रकार सम्मेलनमा कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार भएको जनाइएको थियो ।









डिसी नेपाल








Facebook Comment