ईपीएल खेल्ने नेपाली खेलाडीको तलबमा २० प्रतिशतले वृद्धि
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी(ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब वृद्धि गरिएको छ ।ईपीएलले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले वृद्धि गरिएको जनाएको छ ।
कोरोना महामारीको कारण खेलाडीले व्यहोरेको कठिनाईलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाईएको ईपीएलले जनाएको छ । प्रतियोगितामा सहभागी टिमका मालिक र लिग व्यवस्थापनको बैठकले तलब बढाउने निर्णय गरेको हो ।
चितवन टाइगर्सका मालिक किशोर भट्टराईले खेलाडीको तलब बढाउन सबै टिम सहमत भएको बताए । ‘कोरोनाको कारण खेलाडीहरु खेलबाट बन्चित थिए । उनीहरुले व्यवसायिक लिग खेल्ने अवसर र कमाई गुमाए । त्यसैले हामीले नेपाली खेलाडीको तलब २० प्रतिशतले वृद्धि गर्न सहमत भएका छौँ,’ उनले भनेका छन् ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले तलब बढाउन सहमत बनेकोमा टिमलाई धन्यवाद दिएका छन् । चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।







डिसी नेपाल







Facebook Comment