अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकारद्वारा कार्यदल गठन, सम्पर्कमा आउन आग्रह

डिसी नेपाल
३१ साउन २०७८ २०:३८
116
Shares

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार गर्नका लागि कार्यदल गठन गरेको छ । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ बसेको अन्तर–मन्त्रालय स्तरीय बैठकले त्यहाँको अवस्था वस्तुगत रुपमा एकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्य गर्नका लागि कार्यालय गठन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयका मध्य एसिया, पश्‍चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्‍कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन भएको जनाएको छ ।

मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाउँदै सम्पर्कमा आउन आग्रह गरेको छ ।

अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् । उद्धारका लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु ९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र  ९७७-९७७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय)मा सम्पर्क गर्न सकिनेछ ।

काबुलस्थित विभिन्‍न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्‍ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।

त्यस्तै मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.