सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

डिसी नेपाल
२ भदौ २०७८ १४:४८
236
Shares

काठमाडाैं। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ।

सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले राससलाई बताए। उनले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको उल्लेख गरे। सन्दीप सीपीएल २०२१ मा ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए।

सीपीएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ। नेपालले ओमानमा नै हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ।

त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर ५ र ८ तारिखमा दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। दुवै खेल ओमनमा नै हुनेछ।

सन्दीपले यसअघि तीन सिजनको सीपीएल खेलिसकेका छन्। उनले गत सिजन जमैका तलावाजबाट खेलेका थिए। त्यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *