सरकार बिस्तारमा अझै बिलम्ब

डिसी नेपाल
४ भदौ २०७८ ७:५२
152
Shares

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना बढी भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। आफूसँगै चार जना मन्त्री नियुक्ती गरेर दैनिक कार्यसंचालन गरिरहेका प्रधानमन्त्री देउवाले त्यसको दुई हप्तापछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए।

लामो समयसम्म सरकारले पूर्णता नपाउँदा सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेको छ। विशेष गरी माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन सरकार बिस्तारमा ढिलाइ भएको गठबन्धनका नेताहरुले बताएका थिए।

सरकारले माधव नेपाल समूहलाई सजिलो हुने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि माधव नेपाल समूहले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै सरकार विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ। ‘अब माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि सरकार विस्तार भइहाल्छ,’ प्रधानमन्त्री देउवा निकट स्रोतले भन्यो, ‘हाम्रो सूचना अनुसार अबको चार दिनभित्र माधव नेपालको पार्टीले आधिकारिकता पाउँछ, त्यसपछि सरकार विस्तार हुन्छ।’

गठबन्धनका नेताहरुबीच मन्त्रालयको भागवण्डाका विषयमा मोटामोटी सहमति भएपनि कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भने सहमति हुन सकेको छैन। ‘मन्त्रालयका विषयमा कुरा भइसकेको छैन,’ बालुवाटार निकट स्रोतले भन्यो, ‘नेताहरु दश मिनेट बस्नु भयो भने मन्त्रालयका विषयमा सहमति जुटिहाल्छ।’

मन्त्रालयको संख्यामा मोटामोटी सहमति भएपनि एउटै मन्त्रालयमा धेरै दलको दाबी भएका कारण् प्रधानमन्त्री देउवा अफ्ठेरोमा परेका छन्। विशेष गरी परराष्ट्र मन्त्रालयमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले दाबी गरेका छन्। उनी आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने दाउमा छन्।

तर संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहाभागी हुनुपर्ने पक्षमा छन्। यादव यसअघि बारम्बार सरकारमा सहाभागी भइसकेको भन्दै एक समूह उनलाई रोक्नुपर्ने पक्षमा छ। तर यादव आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने हो भने अरुलाई पनि सरकारमा पठाउन नहुने पक्षमा छन्।

प्रधानमन्त्री देउवाकै दलभित्र मन्त्रीको आकांक्षी धेरै पछि देउवा अफ्ठेरोमा परेका छन्। उनलाई पार्टीभित्र वरिष्ठ नेता पौडेल समूह र आफ्नै समूहलाई समेट्नुपर्ने चुनौती छ।

परराष्ट्र मन्त्रालयमा पनि कांग्रेसभित्रै धेरै आकांक्षी छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आफ्नो समूहबाट परराष्ट्र मन्त्रीसहित सरकारमा सहभागिता सुनिश्चिताको माग गरेको छ। पौडेल समूहबाट सुजाता कोइराला, डा. मिनेन्द्र रिजालसहितका नेता त्यसका लागि आकांक्षी छन्। यसैगरी कांग्रेस सांसद विनोद चौधरीले पनि परराष्ट्र मन्त्रीका लागि लविङ गरिरहेका छन्।

उता माओवादी केन्द्रमा पनि मन्त्रीको आकांक्षी धेरै हुँदा समस्या भएको छ। माओवादी केन्द्रमा कसेको नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेमा विवाद बढ्दै गएको छ।

नारायणकाजी श्रेष्ठ आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने पक्षमा छन् भने पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्छ भन्ने मत बलियो छ। श्रेष्ठ संसदीय निर्वाचनमा पराजित भएका कारण उनको नेतृत्वमा सरकारमा सहभागी नहुन अध्यक्ष प्रचण्डमाथि दबाव छ।

हाल माओवादी केन्द्रबाट दुई जना मन्त्री सरकारमा सहभागी छन्। माओवादीले सातवटा मन्त्रालय पाउने पूर्व सहमति छ। जस अनुसार माओवादीले अब पाँच जना मन्त्री सरकारमा पठाउनुपर्छ। तर अहिलेसम्म उसले मन्त्रीको टुंगो लगाउन सकेको छैन।

माधव नेपालको दल नेकपा एमाले समाजवादीले दलको मन्यता पाएपछि र मन्त्रालयमा पनि सहमति जुटेपछि अर्को हप्ताभित्र सरकारले पूर्णता पाउने बालुवाटार निकट स्रोतले दाबी गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.