तालिबानका प्रमुख हिब्तुल्ला अखुंदजादा कहाँ छन् ? अहिलेसम्म किन सार्वजनिक भएका छैनन् ?
काठमाडौं । तालिबानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेको २ हप्ता भएको छ । तर, यति लामो समय बितिसक्दा पनि तालिबानका प्रमुख मुल्ला हिब्तुल्लाह अखुंदजादा अझैसम्म सार्वजनिक भएका छैनन् । उनी कहाँ छन् र अहिलेसम्म किन सार्वजनिक भएनन् भन्ने उत्सुकता बढिरहेको छ । यही बीचमा तालिबानले आफ्ना प्रमुखबारे नयाँ जानकारी दिएको छ ।
तालिबानका सूत्रले बीबीसीको पश्तो सेवासँग कुरा गर्दै संगठनका सबैभन्दा ठूला नेता मुल्ला हिबतुल्लाह अखुंदजादा अहिले कान्दाहारमा रहेको र निकै छिटो सार्वजनिक रुपमा आउने बताएका छन् । मुल्ला हिब्तुल्लाह कान्दाहारकै एक धार्मिक विद्वान हुन् । उनी २०१६ मा तालिबानका प्रमुख बनेका थिए ।
उनले नै तालिबानको दिशा बदलेको र संगठनलाई अहिलेको अवस्थामा पुर्याएको मानिन्छ । उनी ८० को दशकमा अफगानिस्तानमा रुसी सेनाको विरोध गर्ने इस्लामी नेताहरुमध्येका एक हुन् । उनको छवि एक सैन्य कमाण्डरभन्दा बढी एक धार्मिक नेताको रुपमा परिचित छ ।
तालिबानको राजनीतिक कार्यालय प्रमुख मुल्ला अब्दुल गनी बरादर पनि काबुलबाट कान्दाहार फर्किसकेका छन् । मुल्ला अब्दुल गनी बरादरती ४ नेतामध्येका एक हुन् जसले १९९४ मा तालिबानको गठन गरेका थिए ।
१५ अगष्टमा तालिबानले काबुल नियन्त्रण गरेपछि निर्वासनमा रहेका मुल्ला बरादरसमेत कैयौं तालिबान नेता अफगानिस्तान फर्किसकेका छन् । यही बीचमा तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले नयाँ सरकार गठनको विषयमा वार्ता भइरहेको र यसबारे छिटै घोषणा हुने बताएका छन् । यस्तोमा हिब्तुल्लाह सार्वजनिक भएपछि के गर्छन् भन्ने विषयमा धेरैको चासो छ ।







डिसी नेपाल







Facebook Comment