अमेरिकाले तालिबानसँग मिलेर अफगानिस्तानमा अपरेशन जारी राख्ने

डिसी नेपाल
१७ भदौ २०७८ १०:५९

काठमाडौं। अमेरिकी सेनाले औपचारिक रुपमा अफगानिस्तान छोडेको भए पनि त्यहाँ आतंकवादी संगठनविरुद्ध अपरेशन भने जारी राख्ने भएको छ । अमेरिकी सेनाका अधिकारीका अनुसार आगामी दिनमा आवश्यकता परेको बेला अमेरिकाले अफगानिस्तानमा आतंकवादी संगठनविरुद्ध एयरस्ट्राइक गर्नेछ । यी अधिकारीका अनुसार अमेरिकाले यसरी आतंकवादी संगठनविरुद्ध अपरेशन गर्दा तालिबानलाई साथमा लिएर गर्नेछ ।

अमेरिकी सेनाका प्रमुख जनरल मार्क मिलीका अनुसार अफगानिस्तानमा रहेका इस्लामिक आतंकवादीहरुविरुद्ध अमेरिकाले एयरस्ट्राइक गर्न सक्नेछ । याहू न्यूजमा प्रकाशित रिपोर्टअनुसार भविष्यमा तालिबानसँग सहकार्य गरेर यस्तो गर्न सकिनेछ । मार्क मिलीले भने ‘तालिबान एक क्रुर संगठन हो र ऊ अहिले पनि दशकौं पुरानो जस्तै छ ।’ जनरल मिलीले अफगानिस्तानमा तालिबानको भविष्य के हुन्छ भन्ने कुरा अहिल्यै अनुमान गर्न नसकिने बताउँदै आगामी केही समयसम्म अफगानिस्तान र तालिबानमाथि निगरानी गर्नुपर्ने बताए ।

जनरल मिलीका अनुसार अमेरिकाले केही दिन अधिसम्म लाखौं मानिसहरुलाई उद्धार गर्ने क्रममा तालिबानले अमेरिकी नागरिकलाई विमानस्थलसम्म जान सुरक्षित बाटो बनाइदिएको र अमेरिका र तालिबानको व्यवसायिक सम्बन्ध रहेको बताए । अमेरिकाले अफगानिस्तान छोड्नुभन्दा पहिले आइएसआइएस–के विरुद्ध एयरस्ट्राइक गरेको थियो । आइएसआइएस–केले काबुल विमानस्थलमा आत्मघाती बम आक्रमण गर्दा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *