तालिबान र नर्दर्न एलायन्सको वार्ता विफल, पंजशीरमा तालिबानको घेराबन्दी

डिसी नेपाल
१७ भदौ २०७८ १५:००
11.0k
Shares

काठमाडौं। अफगानिस्तानको पंजशीरमा तालिबान र नर्दर्न एलायन्सबीच युद्ध जारी छ । दुवै पक्षबीच भएको वार्ता विफल भएको छ । अब तालिबानले पंजशीर घाटीलाई घेरा हालेको दावी गरेको छ । यस्तोमा तालिबान र नर्दन एलायन्सबीच अझै घातक झडप हुन सक्ने आशंका गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले पंजशीरलाई घेरा हालेको बताएको छ । पंजशीर मात्र अफगानिस्तानको यस्तो क्षेत्र हो जहाँ तालिबानले नियन्त्रण गर्न सकेको छैन । तालिबानले १५ अगष्टमा काबुलमा नियन्त्रण गरेको थियो । तर, अहिलेसम्म पंजशीर कब्जा गर्न सकेको छैन । पछिल्ला केही दिनयता तालिबानको तर्फबाट पंजशीरको प्रवेश नाकामा आक्रमण तीब्र भएको छ । तालिबानले लगातार घुसपैठको प्रयास गरिरहेको छ ।

अहमद मसुदसहित आफूलाई आफगानिस्तानको कार्यकारी राष्ट्रपति घोषित गरेका अमरुल्लाह सालेह पनि अहिले पंजशीरमा छन् । अमरुल्लाह सालेहले पंजशीर मात्र नभइ पूरै अफगानिस्तानलाई बचाउने बताएका छन् । उनले पंजशीर हरेक अफगानी नागरिकको हकको लागि लडिरहेको बताउँदै अन्तिमसम्म अफगानी जनताको लागि लडिरहने बताएका छन् ।

एक तालिबानी नेताले रोयटर्सलाई पंजशीरलाई चारैतिरबाट घेरिएको बताएका छन् । उनका अनुसार अहिलेसम्म आक्रमणको योजना भने छैन । उनले आफूहरुले शान्तिपूर्वक वार्ताको माध्यमबाट पंजशीरको विवाद सुल्झियोस् भन्ने चाहेको बताएका छन् ।सोमबारदेखि नै पंजशीरमा कैयौं झडपका खबर आइरहेका छन् ।

नर्दर्न एलायन्सले तालिबानले गरेको घुसपैठको प्रयास विफल भएको बताएको छ । सोमबार राती मात्रै ३ सय तालिबानी मारिएको र ४० जनालाई आफूहरुले नियन्त्रणमा लिएको नर्दर्न एलायन्सले बताएको छ । अहमद मसुदले यसअघि नै आफूहरु वार्ताको माध्यमबाट शान्तिपूर्ण समाधानको पक्षमा रहेको तर तालिबानले युद्ध चाहेको भए त्यही हुने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *