ललितपुरका नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण

डिसी नेपाल
२२ भदौ २०७८ ७:०७
40
Shares

काठमाडाैं । ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगर प्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ। महानगरपालिकामा धेरैजसो नेवारी समुदायको बसोबास रहँदा प्रहरीलाई काममा सो भाषाले सहजता तुल्याउन ठहर गरी दुईहप्ते प्रशिक्षण दिन सुरु गरिएको हो।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगर नेवारी बस्तीमा नेपाल भाषा प्रयोग गरेर आफूहरूले काम गर्दा अपनत्वको व्यवहार पाएसँगै सो भाषा जान्न अति नै आवश्यक रहेको बुझी सोमबारदेखि आउँदो असोज ३ गतेसम्म सिकाइने भएको बताए।

उनले भने, “यहाँ बसोबास गर्ने कैयौँ वृद्धवृद्धामा नेपाली भाषाको ज्ञान अभाव पाएसँगै उहाँहरूको समस्या सुन्न र बुझ्नसमेत यसले सहयोग गरेको छ ।” हरेक मानिसले आफू कार्यरत स्थानको भाषा अनि संस्कृति जान्दा धेरै काम बन्दै जाने उनको बुझाइ छ।

महानगपालिकामा कार्यरत १३ महिला र ३६ पुरुष गरी ४९ नगर प्रहरीलाई दैनिक बिहान एकदेखि डेढ घण्टाको तालिम दिइने हाछेथुले जानकारी गराए। नेवा स्यानेगुठी प्रशिक्षण केन्द्रका निर्देशक एवं प्रशिक्षक रुबिन शाक्यले प्रहरीले काममा खटिँदा दोहोरो सञ्चार गर्न सक्ने आधारभूत भाषाको प्रशिक्षण दिइने बताए। उनले भने, “हामीले नेवारीमा सम्बोधन गर्नेदेखिका आवश्यक भाषा सिकाउनेछाैँ।”

प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाका भित्री बस्तीमा बढीजसो नेवार समुदाय रहँदा नगर प्रहरीले आफ्ना सेवा चुस्त अनि दुरुस्त बनाउन भाषाको प्रयोग गर्न पाउने बताए। उनले भने, “यस क्षेत्रमा लगभग ६० प्रतिशत नेवार रहँदा प्रहरीले सबैसँग मिलेर काम गर्ने पाउनेछन्।”

लपु महानगरपालिकामा कूल ७८ नगर प्रहरी कार्यरत छन् । सो मध्ये २९ सँग नेपाल भाषाको जानकारी पहिले नै रहँदा प्रशिक्षणमा सहभागी नगराइएको महानगरपालिकाले जानकारी गराएको छ । महानगरपालिकाका पाटन, खोकना, बुङ्मती, सुनाकोठी, हरिसिद्धिलगायतका धेरै क्षेत्रमा नेवारी समुदायको बसोबास रहेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.