खुले सुपथ मूल्यका पसल, दुर्गममा हेलिकप्टरबाट खाद्यान्य आपूर्ति गरिने

डिसी नेपाल
१ असोज २०७८ १४:४१

काठमाडौं । चाडपर्वलाई लक्षित गरी सरकारले सहुलियत मूल्यका पसल आज(शुक्रबार)देखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीस्थित सहुलियत मूल्य पसलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गरेका हुन् ।

थापाथलीस्थित सहुलियत मूल्य पसलको उद्घाटनसँगै देशैभर सरकारद्वारा संचालित अन्य सुपथ मूल्यका पसलहरु संचालनमा आएका छन् । उद्घाटन कार्यक्रमसँगै सचिव भट्टराईले सुपथ मूल्यका पसलहरु छठको भोलिपल्ट अर्थात् कात्तिक २४ गतेसम्म सञ्चालन गरिने जनाएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङसहितको सहभागितामा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा आएको सचिव भट्टराईले जानकारी गराए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट आज असोज १ गतेदेखि देशका ३९ जिल्लाका ४३ आउटलेटबाट सहुलियत मूल्यका पसल संचालन गरिएको र आवश्यक परेको खण्डमा थप विस्तार हुने जनाइएको छ ।
काठमाडौं उपत्यकामा जनताको सुविधाको लागि थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकका बिक्री काउन्टरबाट भौतिक उपस्थितीमा सामान बिक्री हुनेछ । साथै, अनलाईन सेवाबाट पनि छुटसहित निःशुल्क होम डेलिभरीको व्यवस्था मिलाइएको छ ।

काठमाडौंं उपत्यकामा वडादसैं पर्वमा मासुको मूल्यमा कार्टेलिङ रोक्न मकवानपुर, दाङ जिल्लाका किसानहरुबाट २ हजार गोटा खसिबोका र मुस्ताङबाट १ हजार गोटा च्याङ्ग्रा खरिद गरी ल्याउने तयारी भइरहेको जनाइएको छ । र, घटस्थापनासम्ममा खसिबोका काठमाडौं आइपुग्ने छ ।

सहुलियत मूल्य पसलमा चामल, दालमा प्रति केजी ५ रुपैयाँ, खाने तेलहरुमा ५ देखि १० रुपैयाँ, कर्णालीको सिमि र फापरको दानामा प्रति केजी १० र जिउदो खसि बोकामा प्रति केजी १० रुपैयाँ छुट दिई बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, दुर्गम जिल्लाहरुमा खाद्यान्न अभाव हुन नदिन हेलिकप्टर, हवाईजहाज र पैदल बाटो प्रयोग गरेर खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको सचिव भट्टराईले बताए ।

तस्बिरहरु : फुर्पा शेर्पा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *