भरतपुर अस्पताललाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
१ असोज २०७८ २३:४१

काठमाडौँ । भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो ।

इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा भरतपुर महानगरप्रमुख दाहालले कोभिड–१९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरिएको बताइन् । काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामी उपचारका लागि भरतपुर आएको भन्दै कोभिड उपचारमा कुनै कमी हुननदिएको उनको भनाइ थियो ।

स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई अझ बढी प्रभावकारीरूपमा प्रयोग गर्न उनले आग्रह गरिन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मेसु डा कृष्णप्रसाद पौडेलले सबैको सल्लाह र सुझावअनुसार नै अस्पताललाई अगाडि बढाउने बताए । अस्पताल विकास समितिका सदस्य मुकुन्द दाहालले अस्पतालको विकासमा भरतपुर महानगरपालिकाको सहयोगले नै अस्पताल यहाँसम्म आइपुगेको बताए ।
कार्यक्रममा २०७८ सालको भरतपुर अस्पतालको पहिलो अंक बुलेटिनको विमोचनसमेत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *