१० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई खोप, यी हुन् १० जिल्ला

डिसी नेपाल
४ असोज २०७८ १७:०८
172
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

उनका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो ।

सरकारले शुक्रबारमात्र चीन सरकारबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो । यस्तै काभ्रे र चितवनमा पनि १८ वर्ष भन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ । उनले अभियानकै क्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ ।

यस्तै, मनाङ्, मुस्ताङ र पूर्वी रुकुम वाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप लगाउन बाँकी सवै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि अभियानकै क्रममा खोप लगाइने उनले बताए । पहिलो मात्रा खोप लगाइसकेका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ ।

आजैदेखि यसअघि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ । दोस्रो मात्रा आजदेखि असोज ६ गतेसम्म काठमाडौं जिल्लामा सञ्चालन भइरहेको छ ।

मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा पहिलो मात्रा ६२ लाख तीन हजार ३१६ जनाले र पूर्णमात्रा ५५ लाख ७८ हजार ८६५ जनाले लगाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *