काठमाडौंको भित्री सहरमा विश्व सम्पदा क्षेत्रका भन्दा प्राचीन सम्पदा छन् : मेयर शाक्य
काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्वसम्पदा क्षेत्रका भन्दा प्राचीन सम्पदाहरू काठमाडाैंकाे भित्री शहरमा रहेकाे बताएका छन्। साेमबार महानगरकाे वडा २१ तः बहाः मा रहेको कीर्तिपुण्य बज्रधातु महाविहार (क्वाः पाः द्यःछेँ) को पुननिर्माणका लागि शिलान्यास गर्दै शाक्यले यस्तो बताएका हुन्।
‘भित्री शहरका प्राचीन सम्पदामध्ये यो विहार पनि एक हो। ६ सय बर्ष पुरानो यो विहारजस्ता भौतिक सांस्कृतिक सम्पदा धेरै छन्।’ शाक्यले भने, ‘ती क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हाम्रो योजना हो।’
शाक्यले भने, ‘काठमाडौं घुम्न आउने पर्यटकले ४ वटा विश्व सम्पदा क्षेत्र मात्र देखेका र घुमेका छन्। ती क्षेत्रमाभन्दा प्राचीन सभ्यता बोकेका ठाउँहरु भित्री सहरी क्षेत्रमा छन्। यी ठाउँमा पर्यटकहरु आउन सकेका छैनन्। यो अवस्थालाई महसुस गरेर हामीले यस्ता ठाउँको संरक्षण गर्ने र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएर काम गरिरहेका छौँ।’
‘०७६ सालको इन्द्रजात्रामा हामीले भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई रथयात्रा मार्गको अवलोकन गराएका थियौँ।’ उनले भने, ‘त्यस क्रममा आउनु भएका पथप्रदर्शकहरु भित्री सांस्कृतिक संरचनाको प्राचीनता देखेर अचम्ममा पर्नुभएको थियो । पर्यटकलाई बाटो देखाउनेलाई ती ठाउँको महत्व थाहा नभएपछि प्रवर्धन कसरी हुन्छ? त्यसैले हामी भित्री सहरका महाविहार, विहार, बहाल, बही, ननी, चोकजस्ता सांस्कृतिक भौतिक संरचना र मौलिक बस्तीको मर्मत, सम्भार र जीर्णोद्धार गरेर पर्यटन प्रवर्धनका कार्यक्रमसँग जोड्दैछौँ।’
काठमाडौँका सम्पदाहरुलाई पुननिर्माण गर्नु, आवासीय परम्परागत भवनहरुलाई मौलिक संरचनामा यथावत राख्ने प्रयास गर्नु हाम्रो कार्यकालमा भइरहेको प्रमुख काम हुन्। शिलान्यास समारोहमा वडा २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्यले, महानगरले गरेका हरेक कामलाई नराम्रो मात्र देख्ने दृष्टि दोषका कारण भएका कामको चर्चा हुन नसकेको उल्लेख गरे।
यो महाविहार भ्याटसहित करीब ९६ लाख रुपैयाँ लागतमा पुननिर्माण हुनेछ । भदौ २ गते निर्माण कम्पनी नमोवुद्ध बिल्डर्सलाई कार्यादेश दिइसकिएको छ । यसको निर्माण अवधि ०७९ भदौ २ गतेसम्म रहनेछ।
यसको डिजाइन इञ्जिनियर अमित बज्राचार्यले गरेका हुन्। उनकाअनुसार तीनतले महाविहार २४ फिट लम्बाइ र १४ फिट ८ इन्च चौडाइ जमिनमा निर्माण हुनेछ । यहाँ अक्षोभ्य बुद्धको मूर्ति छ। अहिले मूर्तिको प्राण कलशमा प्रतिस्थापन गरेर काम थालिएको हो।
विहार संघका सदस्य गुरजु डा. नविन बज्राचार्यकाअनुसार नेपाल संवत ६०७ वि. सं. १५४४ को महाविहार सम्बन्धी अभिलेख पाइन्छ। त्यसबेला तःबहाः का जीनदेव बज्राचार्यले बालाजुमा रहेको वुद्धमूर्तिमा चढाएको गहनामा लेखिएको अक्षरका आधारमा यो त्यस अघिकै महाविहार रहेको मान्न सकिने बज्राचार्यको तर्क छ। नेपाल संवत् ६९९ मा महाविहारको संरक्षण र व्यवस्थापनका लागि गुठी स्थापना भएको अभिलेख पाइन्छ।
महाविहारको मुल ढोकामा राखिएको तोरणमा नेपाल संवत् १००७ मिति उल्लेख छ । यो मितिमा जीर्णोद्धार भएको हुन सक्ने डा. बज्राचार्यको बताए।
महाविहार ०७२ सालको भूकम्पले जीर्ण बनेको थियो । यो लगं वहाः का ८ वटा शाखा (कचा वहाः) मध्ये एक हो।







डिसी नेपाल








Facebook Comment