राष्ट्रिय दिवसका अवसरमा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र महासचिव गुटरेसद्वारा शुभकामना

डिसी नेपाल
५ असोज २०७८ १९:३२
188
Shares

काठमाडौं । नेपालको संविधान तथा राष्ट्रिय दिवसका अवसरमा चीनका राष्ट्रपति सी चीनफिङ, प्रधानमन्त्री ली खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपाल र नेपालीको समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपति र महासचिव गुटरेशले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर राष्ट्रिय दिवसको शुभकामना व्यक्त गरेका हुन् भने चीनका प्रधानमन्त्री लीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएर हार्दिक शुभेच्छा व्यक्त गरेका हुन्।

चीन सरकार र जनताका तर्फबाट पठाएको सन्देशमा राष्ट्रपति सीले विकास र समृद्धिका निम्ति चीन र नेपालबीचको रणनीतिक साझेदारी र सहयोगको सम्बन्ध अनन्तकालसम्म रहिरहने विशिष्ट प्रकृतिको छ भन्दै एकअर्काका हित प्रवर्द्धनमा दृढताका साथ सहयोग भइरहेको बताएका छन् ।

गतवर्षदेखि चिनियाँ र नेपाली जनता संयुक्तरूपमा कोभिड–१९ महामारीविरुद्ध लडिरहेका तथा परम्परागत चीन–नेपाल मैत्रीलाई ‘बेल्ट एण्ड रोड’ सहयोगको माध्यमबाट उनीहरूले त्यसलाई नयाँ गति दिएका बताएका छन् ।

चीन र नेपालबीचको सम्बन्धलाई अझ उन्नत तुल्याउन आफूले उच्च महत्व दिएको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिले सन्देशमा दुवै देश र जनताको अझ अधिक हित तथा द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्दै त्यसलाई नवीन चरणमा पुर्‍याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताएका छन् ।

यसैगरी महासचिव गुटरेसले अहिलेको कठिन परिस्थितिमा हरेक देशले विश्वको कल्याणका खातिर आवश्यक योगदान गर्नुपर्ने स्मरण गराएको बताउँदै महामारीबाट पार पाउन सहकार्य गरिरहँदा त्यसलाई परास्त गरेपछि अझ उत्थानशील, दिगो र न्यायपूर्ण समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसले निम्त्याउने सङ्कटको सम्बोधनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयासलाई दृढताका साथ अघि बढाउन आवश्यक भएको उनले सन्देशमा उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घलाई सुदृढ तुल्याउँदै सबैका लागि अझ योग्य र शान्त संसार निर्माण गर्न नेपालबाट सहयोग हुने भरोसा आफूले गरेको महासचिव गुटरेसले बताएका छन् ।

यसैगरी, प्रधानमन्त्री लीले प्रधानमन्त्री देउवालाई पठाएको सन्देशमा पहाड र नदीले जोडिएका चीन र नेपाल परम्परागत छिमेकी मित्र हुन् भन्दै कोरोनाको महामारी फैलिएपछि एकअर्कालाई सहयोग गर्दै द्विपक्षीय मैत्रीमा नयाँ अध्याय थपिएको बताएका छन् । ‘महामारीविरुद्धको लडाइँमा नेपाली पक्षसँग मिलेर काम गर्न तथा ‘बेल्ट एण्ड रोड’ सहयोगलाई संयुक्त रुपमा अघि बढाउनका साथै चीन–नेपाल सहयोगको रणनीतिक साझेदारी प्रवर्द्धनका निम्ति विभिन्न क्षेत्रमा उच्चस्तरीय आदानप्रदान एवम् सहायता विस्तार गर्न चीन इच्छुक रहेको’ प्रधानमन्त्री देउवालाई सम्बोधन गरेर प्रधानमन्त्री लीले पठाएको सन्देशमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.