लमजुङका आठ स्थानीय तहमा कांग्रेस अधिवेशन, यी हुन् सभापतिका उम्मेदवार
लमजुङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार लमजुङका आठ स्थानीय तहमा गाउँ/नगर अधिवेशन हुँदैछ। ७५ वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि छनोट भइसकेपछि अब चार/चार नगरपालिका र गाउँपालिकामा अधिवेशन हुन लागेकाे हाे।
बेंसीसहर नगरपालिकामा शरणहरि जोशी र सुरेशबाबु पाण्डे सभापतिका लागि चुनाव लड्ने भएका छन्। सुन्दरबजार नगरपालिकाको सभापतिका लागि बद्रीमान श्रेष्ठ, प्रकाश सेढाइँ र दामोदार अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ।
राइनास नगरपालिकाको सभापतिका लागि नुरराज कडरिया र श्रीकृष्ण पौडेलबीच चुनाव हुने भएको छ। मध्यनेपाल नगरपालिकाको सभापतिका लागि वसन्तराज घिमिरे र रामचन्द्र भण्डारी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन्। दूधपोखरी गाउँपालिकामा कमलप्रसाद धिताल र धनप्रसाद गुरुङ सभापतिका लागि चुनाव लड्ने भएका छन्।
दोर्दी गाउँपालिकामा बिच्छबहादुर घले र यमबहादुर तामाङ सभापतिका लागि चुनावी प्रतिस्पर्धामा छन्। मर्स्याङ्दी गाउँपालिकामा कृष्णबहादुर गुरुङ र हरिश्चन्द्र थापा सभापतिमा प्रतिस्पर्धा गर्दैछन्।
क्व्होलासोंथर गाउँपालिका सभापतिमा पसबहादुर गुरुङ र खेमबहादुर गुरुङ चुनाव लड्ने भनिए पनि पसबहादुर गुरुङलाई सर्वसम्मत बनाउने तयारी छ।
शनिबार हुने निर्वाचनको तयारी पूरा भएको नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले बताए । नेपाली कांग्रेस लमजुङ १४औँ अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत थानेश्वर दवाडीका अनुसार कांग्रेस पालिका अधिवेशनमा भदौ २० गतेदेखि आयोजित वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र केही पदेन प्रतिनिधि सहभागी हुनेछन्।















Facebook Comment