साहित्य र सिर्जनामा विश्व रेकर्ड बनाउन मै बित्छ उपाध्यायकाे दैनिकी

तर्कबहादुर थापा
९ असोज २०७८ ११:२४

हरेक व्यक्तिको फरकफरक स्वभाव हुन्छ। व्यक्ति अनुसारको लत पनि फरक हुन्छन्। हामीले देखेको समाजमा अनेकथरी लत भएका मानिस भेट्न सकिन्छ। सबै लतहरुको आ–आफ्नो प्रभाव हुन्छ। कोही नाम गुमाउने लत हुन्छन् भने कतिपय नाम कमाउने लत पनि हुन्छन्।

डा. डिआर उपाध्यायको लत भनेको नाम कमाउने छ। उनी उमेरले पाको भए पनि आफूलाई २४ वर्ष भन्दा धेरै भएको भन्न रुचाउँदैनन्। ‘श्रष्टा कहिल्यै बुढो हुँदैन। जब लेख्न थालिन्छ, तब २४ वर्षे उमेरको जोस आउँछ, जाँगर आउनछ, कल्पनाहरु आउँछन् अनि बुढो भएको भन्ने त?’

बिरगञ्जमा जन्मिएका उपाध्यायले एसएलसी पास गरेपछि उच्च शिक्षाको लागि काठमाडौं प्रवेश गरे। उनले विद्यालय जीवनमा पनि साहित्य कोरे, पत्रपत्रिकामा छपाउन दिए। ‘मलाई विद्यालय जीवनदेखि नै पढ्न र लेख्नमा रुची थियो। साथीहरु केटी जिस्काएर बस्थे म पढेर बस्थेँ।’ उनीमा पढ्ने र नाम कमाउने लत लाग्यो।

आर्थिक अभावले पनि त्यो बेलामा उनलाई लेख्न र पढ्ने लत लगाएको हुन सक्छ। ५० पैसामा किन्न पाइने बदाम नखाएको उनका मनमा ताजै छ। अझै पनि ५ पैसाको रातो बरफ १० पैसाको सेता बरफ खाएको बारम्बार सम्झिरहन्छन्। त्यसैले पनि होला शान्त, सुशील र प्रेमील छन् डा.उपाध्याय।

पाठकको मन छुने रचनाको वकालत गर्दै आएका डा उपाध्यायका २४ गीति एल्बम र सयौं गीत रेकर्ड भएर बजारमा आएका छन्। उनी आफैले अभिनय गरेका गीतहरुले पनि अहिलेको डिजिटल बजारमा राम्रो स्थान बनाउन सफल भएका छन्। नेपाली साहित्यमा ११ वटा उपन्यासका सर्जक उपाध्यायका तीन गीति पुस्तक छन्। उनका उपन्यासहरुमा बज्राघात, त्यागी, भाग्यचक्र, अपवित्र छाया, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी र कफिलव रहेकाछन्। ‘अझै आउँदैछन्। यो दशैतिहारकै बीचमा दुई वटा पुस्तक सार्वजनिक हुने छन्। जसमा एउटा उपन्यास छ। अर्को अरु विषयमा लेखिएको पुस्तक छ। त्यसले पनि विश्व रेकर्ड राख्न आफूलाई दाबेदार बनाएको छ।’

यस्तै, गीति एल्बमहरुमा प्रणय, नसालुनजर, जखम, प्रतिनाथ, अन्तराप, सहेली, जोहो माउन्टेन मेलोरी, पृथक, अञ्जान तिर्खा, सुधारस स्वर्गघर, नजरको तिर आदि रहेका छन्। गीत संगीतमा पनि विश्व रेकर्डको लागि तयारी गरिरहेको उपाध्यायको भनाइ छ। ‘अब आउने गीत अझै भिन्दै आउने छ। विश्व रेकर्डहरुको सूचीमा उक्त गीतको पनि नाम आउने छ।’

नेपाली गीतसंगीतमा लामो समय चलेको उपाध्यायको कलमले हालसम्म उनलाई ५९ वटा विश्वरेकर्डले विभुषित हुने अवसर प्रदान गरेको छ। अझै पनि उपाध्याय १ सय १ विश्व रेकर्डको दौडमा रहेको बताउँछन्। ‘आउने बैशाख २ गते एक सय १ विश्व रेकर्ड बनाउन तयारी गरिरहेको छु। दशै तिहारपछि नै आउँछन् होला केही, केही पाइपलाइनमा छन्।’

वर्षौसम्मको दुःखपछि अहिले विश्व रेकर्ड बनाउँने लत नै बसेको छ उनीमा। लकडाउन भएपछि धेरैले कोरोनाको बारेमा सोचे, कतिपय डिप्रेशनमा गए, कतिको आत्मबल कमजोर भयो र ज्यान गुमाउनु पर्‍यो। तर, उपाध्याय एक मात्र त्यस्ता व्यक्ति थिए जसले १९ वटा विश्व रेकर्डका लागि काम गरे। अहिलेसम्म ५९ वटा विश्वरेकर्ड उनको नाममा भए पनि उनलाई चित्त बुझेको छैन। दशै तिहारपछि लगतै उनी ७५ वटा विश्वरेकर्ड आफ्नो नाममा बनाउने तयारीमा छन्।

‘कोरोना सुरुवात भएपछि केही दिन त मलाई पनि के भयो र कसो भयो नभएको हैन। म पनि डिप्रेश हुन्छु जस्तो भयो। पछि विस्तारै आफूलाई आफ्नो काममा लगाएँ। १९ वटा विश्व रेकर्डको तयारी गरेँ। दशै तिहारपछि लगतै ७५ वटा पु¥याउँछु र बैशाखसम्म १ सय १ वटा रेकर्ड पु¥याउनु पर्छ।’

लेख्दालेख्दै कति कफि शेलाए, कति खाना खाने समय विर्सियो, कतिपटक आफ्नै टाउको चिथोर्ने अवस्था सिर्जना भयो। डा. उपाध्यायका सम्झनामा केही छैनन्। छ त संसारमा एक सय एक विश्व रेकर्ड आफ्नो नाममा बनाउने व्यक्ति बन्नु छ। सरल भाषाशैलीमा लेखेका गीतले श्रोता र दर्शकको मन जित्ने उनको भनाइ छ। उनी आफूले लेखेका माया प्रेमका गीतहरुले श्रोतादर्शकको मन छोए पनि आफू भने केही फरक गर्ने हुटहुटीका साथ बाच्ने गरेको सुनाउँछन्। सधै संसारमा सबै भन्दा फरक गर्ने सोचले उनीमा डेरा जमायो र उनी त्यसकै पछि लागे।

‘मलाई फरक के गरौं भन्ने लाग्छ। अरुले गरेको त गरेकै छौं नि, अरुले पनि गरेकै छन् नि। तर, फरक के गर्ने भन्ने सोच्दा सोच्दै फरकले विश्व रेकर्डतर्फ डोर्‍यायो। अहिले पनि त्यही फरक गर्ने कुराकोपछिमात्र लागेको हुन्छु।’

नेपाली ब्याञ्जन वर्णको पहिलो अक्षरबाट गीत लेखेर, सबै भन्दा छोटो १८ शब्दको गीत लेखेर उनले विश्वमा रेकर्ड कायम गरे। त्यतिमात्र होइन उपाध्ययका नाममा भएका रेकर्डहरु अनौठा खालका छन्। उनले २ इच्छको गीति पुस्तक निकालेर पनि आफ्नो नाममा विश्व रेकर्ड बनाएका छन्। यस्तै सबै भन्दा बढी आमा शब्द, बुबा शब्द, मुटु शब्द प्रयोग गरेर गीत लेखेकै कारण उनका नाममा विश्व रेकर्ड कायम रहेका छन्। विश्वका विभिन्न शहरको नाममा गीत, हिमालको नाममा गीत, फूलहरुको नाममा गीत, मोटिभेसनल गीतलगायतका सृजनाबाट उनले विश्व रेकर्डमा आफ्नो नाम लेखाए।

हालसम्म ११ वटा उपन्यास प्रकाशनमा ल्याएका उपाध्यायले आठ वटा उपन्यासको बण्डल प्रकाशन गरेर पनि विश्व रेकर्ड कायम गरेका छन्। गिनीजबुक अफ वल्र्ड रेकर्डले जहिले ब्रेक गर्न मात्र लगाउने भएकाले उनी नयाँ रेकर्डको लागि अन्य बुकहरुमा जाने गरेको बताउँछन्। उपाध्याय अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, एसियन बुक अफ वल्र्ड रेकर्ड, अष्ट्रेलियन बुक अफ वल्र्ड रेकर्डलगायतका बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन मात्र व्यस्त देखिन्छन्।

‘इनपुट भएपछि आउटपुट आउछ’ डा. उपाध्याय अध्ययन विना लेखिएको साहित्यले समाजको वास्तविक भावनालाई नछुने बताउँछन्। ‘सधै घुम्नुहोस् त्यो घुमाइ पनि पढाइ नै हो। पढ्नुहोस् आफूले चाहेको विधामा कसले के लेखेका छन्। समाज कहाँ छ। अनि बल्ल लेख्न थाल्नुहोस्। म अझै पनि कहिले कतै कपाल कोतारेर बस्छु। कारण भनेको के नयाँ लेखौँ नै हो। नयाँ लेख्ने हुटहुटीले मान्छेलाई अध्ययनशील बनाउँछ । म जस्तोसुकै अवस्थामा पनि एक घण्टा पढ्ने तालिकालाई फेरबदल गर्दैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *