मुलुकमा कति छन् अखबार र अनलाइन ?

डिसी नेपाल
९ असोज २०७८ १२:०२
72
Shares

काठमाडौँ । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार  आठ सय ७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या सात सय ४४ रहेको उल्लेख छ।

प्रतिवेदनमा अर्धसाप्ताहिक ३९, साप्ताहिक दुई हजार नाै सय ५६, पाक्षिक चार सय ७६, मासिक दुई हजार  तीन सय ४७, द्वैमासिक तीन सय ८४, त्रैमासिक छ सय ५०, चौमासिक ३९, अर्धवार्षिक ८७ र वार्षिकरुपमा प्रकाशित हुने अखबारको सङ्ख्या ९३ रहेको उल्लेख छ।

काउन्सिलका अनुसार, आर्थिक वर्ष २०७७/७८ सम्ममा दैनिक सात सय ५, अर्धसाप्ताहिक ३०, साप्ताहिक दुई हजार  आठ सय ५९, पाक्षिक तीन सय ९९, मासिक पाँच सय ९२, द्वैमासिक ६०, त्रैमासिक १०४ र वार्षिकलगायत अन्य ४० पत्रपत्रिका प्रकाशन भएको अभिलेख छ।

प्रादेशिकरुपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट बागमती प्रदेश नै पहिलो स्थानमा देखिएको छ। उक्त प्रदेशमा दुई हजार छ सय ५७ पत्रपत्रिका दर्ता भएको पाइएको छ। काउन्सिलका अनुसार, मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन्। सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला काठमाडौँ हो।

आर्थिक वर्ष २०७७/७८ सम्ममा काठमाडाैँ जिल्लामा दुई हजार अखबार दर्ता छन्। काठमाडौँपछि पत्रपत्रिका दोस्रो धेरै दर्ता भएको जिल्ला पर्सा हो। दर्ता भएका अखबारमध्ये कम मात्र प्रकाशित भएका र प्रकाशित मध्ये पनि सबै नियमित नभएको प्रतिवेदनमा उल्लेख छ। कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी भएपछि विविध कारणले पनि अखबार प्रकाशनलाई खुच्याएको तथ्याङ्कले देखाएको छ।

उक्त आर्थिक वर्षसम्म देशभर दुई हजार  सात सय ६० अनलाइन काउन्सिलमा सूचीकरण भएका विवरणमा उल्लेख छ। पछिल्लो एक आर्थिक वर्षमा मात्रै पनि छ सय २२ अनलाइन सञ्चार माध्यम सूचीकरण भएका छन्।

काउन्सिल पत्रकारितालाई मर्यादित, जवाफदेही र प्रतिष्ठाको पेसा बनाउन पत्रकार आचारसंहिता जारी गर्दै कार्यान्वयनका लागि पहल र नियमन गर्ने संस्था हो। काउन्सिलले स्वस्थ्य पत्रकारिताको विकास गर्दै यस क्षेत्रलाई उच्च मर्यादामा राख्ने मूलभूत उद्देश्य राखेर काम गर्दैआएको छ। नारायण न्यौपाने/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.