कांग्रेसमा सभापतिका उम्मेदवारकै जिल्लामा वडा अधिवेशन अनिश्चित
काठमाडौं। नेपाली कांग्रेसको सातौं पटक परिमार्जित कार्यतालिका अनुसार आज (९ असोज) पालिका अधिवेशनको मिति हो। पालिका अधिवेशनको दिनसम्म १३ वटा जिल्लाको भने क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन।
हालका उपसभापति, महामन्त्रीसहित १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका नताहरूको जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा वडा अधिवेशन नै अनिश्चित बनेको हो। पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादकै बीच (एक वडाबाहेक) वडा अधिवेशन सम्पन्न भइ आज पालिका अधिवेशन सुरु हुँदैछ।
जिल्ला सभापति कर्ण मल्ल पक्षधरले पार्टी कार्यालयमा आमरण अनशन सुरु गरेको छ। क्रियाशील सदस्यता विवाद कायमै रहेको बेला अधिवेशन सुरु गरेको भन्दै मल्ल पक्षले सुरुदेखि नै विरोध जनाउँदै आएको छ। देउवा र उनको श्रीमती आरजुले चुनाव लडेको कैलालीमा पनि सदस्यता विवाद टुंगोमा पुगेको छैन।
उपसभापति एवं आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिको जिल्ला धनुषामा मात्रै हैन उनको सिंगो प्रदेश १ का ८ वटा कुनै पनि जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन। सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङको जिल्ला पनि प्रदेश २ कै महोत्तरी हो। नेताहरूले केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेको लामो समय भइसक्यो तर आफ्नै जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा वडा अधिवेशन अनिश्चित बनेको छ।
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको जिल्ला सुर्खेतमा पनि सदस्यताको किचलो बाँकी नै छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, मोहतरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा सदस्यता विवाद टुंगिएको छैन।
क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले ३ असोज धनुषा, कैलालीलगायतका जिल्लामा १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरूबाटै अधिवेशन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन।
कार्यदलका संयोजक पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र सदस्य रमेश लेखक पालिका अधिवेशनका लागि गृहजिल्ला गएकाले यसबीचमा सदस्यता विवाद टुंग्याउन खासै काम नभएको छैन।
कार्यदलका अर्का सदस्य डा.मीनेन्द्र रिजालले सिटौला र लेखक आजै काठमाडौं फर्किने र भोलिबाट काम सुरु हुने बताए। निर्वाचन समितिका अनुसार कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।
काठमाडौंमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन १६ असोजका लागि तय गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लाको अधिवेशन भने पूर्व निर्धारित मितिमै गर्ने निर्णय गरेको छ। २१ हिमाली जिल्लामध्ये रसुवा र डोल्पाको भने क्रियाशील सदस्यता टुंगो नलाग्दा वडा अधिवेशन नै हुन सकेको छैन।
No ads found for this position


Facebook Comment