तीन क्लबबाट ए डिभिजन लिग जितेका विराज च्यासलमा आबद्ध, प्राविधिक निर्देशक पनि भित्र्यायो
काठमाडौं। राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन ए डिभिजन क्लब च्यासल युथमा आवद्ध भएका छन्। मंगलबार च्यासल युथ क्लबले एक कार्यक्रमबीच महर्जनलाई क्लबमा भित्र्याएको हो।
विराजले गत महिना नेपालमा आयोजना भएको थ्री नेसन्स कपबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका थिए। घरेलु फुटबलको सहिद स्मारक ए डिभिजन लिगमा विराज पहिलो पटक च्यासलमा आवद्ध भएका हुन् । सम्झौतामा च्यासका अध्यक्ष रमेश ब्यन्जनकार र विराजले सम्झौतापत्रमा हस्ताक्षर गरे।
ए डिभिजन यात्रामा विराजको यो पाचौं क्लब हो। यसअघि विराजले न्युरोड टिम एन राटी, थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबाट लिग खेलेका छन्। विराजले थ्री स्टार, मनाङ र मछिन्द्रबाट ह्याट्रिकसहित लिग उपाधि हात पारेका थिए।
एन्फा एकेडेमीका विराजले सन् २००८ मा पोखरामा भएको मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए। राष्ट्रिय टोलीमा ७३ क्याप जितेका विराजले नेपालको लागि बंगबन्धु गोल्डकप, १२औं साग, एएफसी सोलिडारिटी कपको उपाधि हात पारेका छन्। त्यसैले पनि विराजलाई नेपाली फुटबलको सफल कप्तान मानिन्छ।
यस्तै च्यासलले प्राविधिक निर्देशकमा स्कटल्याण्डका ली मान्सनलाई भित्र्याएको छ। च्यासललाई आगामी ए डिभिजन लिगमा यू-क्यानले कीट स्पोन्सर गर्ने भएको छ। च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यन्जनकारले आगामी दिनमा विदेशी खेलाडी, अन्य खेलाडी र प्रशिक्षकलाई समेत सम्झौता गरेर भित्र्याउने बताए।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल विस्तारमा योजना ल्याएकोमा धन्यवाद दिँदै ए डिभिजन लिगको लागि शुभकामना दिए। यस्तै राइट ब्याक विराजले च्यासलले फुटबल खेल्ने योजना राम्रो ल्याएका कारण क्लबमा आवद्ध भएको बताए।
यता, प्राविधिक निर्देशक ली मान्सनले अवसरका लागि क्लबलाई धन्यवाद दिँदै आफ्नो २५ बर्षे अनुभवलाई बढाउदै क्लब फुटबल अर्को स्तरमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै उनले काम गर्न उत्साहित रहेको बताए।
यसअघि च्यासलले युथ एकेडेमीको लागि पुष्प सदन माध्यमिक विद्यालयसँग सम्झौता गरेको थियो। स्रोतकाअनुसार २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिगको लागि च्यासलले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई सम्झौता नवीकरण गरेको छ।
को हुन् ली मान्सन ?
स्कटलल्यान्डका ली मान्सन पछिल्लो २५ वर्षदेखि फुटबल प्रशिक्षणमा सक्रिय छन् । उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आबद्ध थिए। उनीसँग फिलिपिन्सको पुरुष यु-२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका छन्।
मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको रोटना र क्विन अफ दी साउथबाट खेलेका थिए उनले अमेरिकाको रिचमण्ड किकर्सबाट पनि फुटबल खेलेका छन्।







डिसी नेपाल







Facebook Comment