घरधुरी सङ्कलन अन्तिम चरणमा
काठमाडौं । जनगणनाको लागि घरधुरी सङ्कलनका लागि डोटीका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छन् । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले जनाएको छ ।
गाउँमा खटिएका सुपरिवेक्षकले घरपरिवार घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरमा परिवारको सङ्ख्या तथा कृषि विवरण आदिको बारेमा तत्थ्याङ्क लिने काम अन्तिम चरणमा पु¥याएको जिल्ला जनगणना कार्यालयका प्रमुख खेमराज भट्टले जानकारी दिए ।
उनका अनुसार सुपरीवेक्षकले अहिले यहाँका नौवटै स्थानीय तह दिपायल सिलगढी, शिखर नगरपालिका, केआइसिंह, आदर्श, सायल, पूर्वीचौकी, बोगटानफुड्सिल, बडिकेदार तथा जोरायल गाउँपालिकाका स्थानीयवासीका घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरण तथा घरधुरी सङ्कलनका लागि जिल्लाभरिमा कूल ७५ जना सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
उक्त टोलीले यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना गर्न कार्य गर्ने छ । सुपरीवेक्षकले घरको विवरण, घरमुलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० वटा प्रश्न सोध्ने काम गरिरहेका छन् । भौगोलिक दृष्टीकोणले दुर्गम तथा टाढा भएका कारण यहाँका स्थानीय तहका गाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्लनमा केही समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काममा प्रभावित भएको प्रमुख भट्टले बताए । उनले भने, “कतिपय गाउँमा नेटमात्रै होइन फोनसमेत लाग्दैन, गाउँमा गएकालाई सम्पर्क गर्न समेत कठिन भएको छ, तथ्याङ् सङ्कलनमा समस्या हुने नै भयो नी ।” समय छोटो भएको र रकम पनि नआएकोले गाउँमा गएका गणकलाई पैसा दिन बजेट अभाव हुँदा केही समस्या भएको प्रमुख भट्टले गुनासो गरे ।
सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्ने नियम रहेका कारण नेट र फोन कतिपय गाउँमा नभएका कारण समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जिल्ला सदरमुकामस्थित दिपायल सिलगढी तथा शिखर नगरपालिकाबाहेक अन्य सातवटा स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्न समस्या भएको बताइएको छ । गाउँमा खटिएका सुपरीवेक्षकका सुरक्षाका लागि स्थानीय तहमा रहेका प्रहरी चौैकीसँगको समन्वयमा प्रहरी टोली खटाइँदै आएको राष्ट्रिय जनगणना जिल्ला संयोजक निमित्त प्रमुख जिल्ला किरण जोशीले बताए । उनले भने, “अधिकांश सुपरीवेक्षक स्थानीय तहकै नागरिक छन्, उनीहरु गाउँमा जाँदा सुरक्षाका लागि त्यहीका सुरक्षाकर्मीको समन्वयमा खटाउने व्यवस्था मिलाएका छौँ, सुरक्षाको समस्या केही छैन् ।”







डिसी नेपाल








Facebook Comment