पर्यटकीय नगरी बन्दीपुरमा खचाखच पर्यटक, व्यवसायी उत्साहित

डिसी नेपाल
१ कार्तिक २०७८ १८:५३

काठमाडौं। पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

दसैँको फुलपातीदेखि पर्यटकको संख्या बढेको क्षेत्रीय होटल संघ बन्दीपुर इकाईका अध्यक्ष विपिन प्रधानले बताए । बन्दीपुर आउनेमा बढी आन्तरिक पर्यटक रहेको उनले बताए । ‘आन्तरिक पर्यटकको चाप बढी छ । विदेशी पर्यटक पनि देखिन थालेका छन् । विदेशी पर्यटकमा भारतीय बढी छन्’, उनले भने । प्रधानका अनुसार विदेशी पर्यटकले पनि छिटफुट बन्दीपुरका होटल अग्रिम बुकिङ गर्न थालेका छन् ।

पहिलो चरणमा कोरोनाको जोखिम बढेपछि २०७६ चैतदेखि बन्दीपुरको पर्यटन सुस्ताएको थियो । २०७७ सालको दसैँपछि बन्दीपुरको पर्यटन चलायमान हुँदै गर्दा दोस्रो लहरको कोरोना फैलिएर गत वैशाखदेखि फेरि बन्द गर्नुपर्‍यो । विस्तारै तंग्रिँदै गरेको बन्दीपुरमा दसैँको बेला बढेको पर्यटकको चहलपहलले पर्यटनमा आशा जगाएको प्रधानले बताए ।

दसैँको बेला बन्दीपुरमा देखिएको पर्यटकको चहलपहलले होटल व्यवसायीलाई उत्साहित बनाएको बन्दीपुरमा होटल डि बन्दीपुर र हिमालय एसेस होटल सञ्चालन गर्दै आएका वसन्तराज पौडेलले बताए । मौलिक शहर बन्दीपुरमा पर्यटकलाई लोभ्याउने आधार हो, भक्तपुरे शैलीमा बनेका ईट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिंगारेको टुँडाल । कोलाहालमुक्त बन्दीपुर बजार । भिमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे । अन्नपुर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा देखिने टुँडिखेल । मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका । विश्व प्रसिद्ध चीनको ग्रेटवालको झल्को दिनेगरी बनाइएको मुकुन्देश्वरी पर्खाल ।

बन्दीपुरका यिनै गन्तव्यमा यतिबेला पर्यटकको चहलपहल देखिन्छ । र अधिकांश होटल पाहुनाले भरिभराउ छन् । बन्दीपुरमा बास बस्ने सोचले घुम्न आएका पर्यटक होटलमा कोठा नपाएर फर्कनु पर्ने अवस्था रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । दसैँले बन्दीपुरको पर्यटनमा उत्साह र उमंग ल्याएको उनी बताउँछन् । ‘कोरोनाका कारण छाएको निराशा हटाउनेगरी क्राउड देखिएको छ । पर्यटन व्यवसायीलाई आशावादी बनाएको छ’, उनले सुनाए ।

अब पर्यटकलाई बन्दीपुर घुम्न आउँदा छुटको व्यवस्था मिलाउने योजना बनाएको उनले बताए । ‘बन्दीपुरलाई कोरोना फ्रि घोषणा गर्दैै छुटको प्याकेज ल्याउने योजना छ । जसले गर्दा अझै पर्यटक बढ्ने अनुमान छ’, प्रधानले भने । बन्दीपुरमा साना ठुला गरेर ७० बढी होटल रेष्टुरेन्ट छन् । बन्दीपुर बजार आसपासमा झण्डै आधा दर्जन होमस्टे सञ्चालन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *