नेपाली कार्यरत कुवेतको एक कम्पनीमा दूतावासको निरीक्षण

डिसी नेपाल
१० मंसिर २०७८ १२:२८

काठमाडौं । नेपाली कामदारहरू कार्यरत रहेको कुवेतको एक कम्पनीमा कुवेतस्थित नेपाली दूतावासले निरीक्षण गरेको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा गएको टोलीले नेपाली कामदारहरू कार्यरत ‘एजिलिटी’ कम्पनीको निरीक्षण गरेको हो ।

टोलीले त्यहाँको व्यवस्थापन एवं नेपाली कामदारहरूसँग अन्तरक्रियात्मक भेटघाटसमेत गरेको थियो । भेटघाटमा कम्पनीमा नेपालीहरूको कामको अवस्था, सर–सुविधा, सुरक्षालगायतका विषयमा बुझ्नुका साथै कार्यस्थलको अवलोकन गरेको थियो ।

दूतावासका अनुसार अन्तरक्रियाको क्रममा उठाइएको जिज्ञासाबारे दूतावासको तर्फबाट उक्त कम्पनीमा कार्यरत कामदारहरूलाई प्रष्ट पार्ने कार्य भएको छ ।

उपस्थित कामदारलाई सम्बोधन गर्दै राजदूत भण्डारीले असल श्रम सम्बन्धको विकासको महत्व, आफ्ना अत्यावश्यक कागजातहरूको सुरक्षा तथा कानूनको परिपालनाको महत्व बारे प्रकाश पारेका थिए ।

साथै, उनले नेपाली कामदारहरूको रोजगार तथा बसाइलाई सहज बनाउन दूतावासबाट भइरहेको कामकारवाही एवं सेवाहरूबारे जानकारी दिंदै आफ्नो रोजगारीका शर्त, बसाईको वैधानिकता, अनुशासित जीवनशैलीको आवश्यकता, स्वास्थ्य स्थिति, आर्जित रकम वैधानिक रूपमा नेपाल पठाउने लगायतका विषयमा जानकार रहन आग्रह गरेका थिए ।

दूतावासको सो टोलीमा श्रमसहचारी हेमकुमार अधिकारी तथा द्वितीय सचिव श्रीकृष्ण सिलवालसमेत रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *