पोखरामा आन्तरिक पर्यटकको चहलपहल

डिसी नेपाल
६ पुष २०७८ १७:५७

काठमाडौँ । लामो समयको कोरोना महामारीको सामना गरिरहेको पोखराको पर्यटन क्षेत्रले यतिबेला केही राहत महसुस गरेको छ । कोभिड– १९को खोपको सहजतासँगै सङ्क्रमणदर कम हुँदै गएपछि यहाँ आन्तरिक पर्यटक बढ्नाका साथै सभा सम्मेलनलगायत कार्यक्रम पनि बढ्दै गएको पाइएको छ । कोरोनाका कारण लामो समयदेखि रोकिएका सभा,सम्मेलन, अधिवेशन, लोकसेवा आयोगका परीक्षा, अध्ययन, अवलोकन, भ्रमणलगायतको सुरुआतले यहाँको पर्यटनले गति लिन थालेको महसुस गरिएको हो ।

केही समयअघि यहाँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन, नेकपा (माओवादी) केन्द्र गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भयो । त्यसैगरी लोकसेवामा आयोगका विभिन्न पदको परीक्षाका कारण साना ठूला होटलमा लामो समयपछि पाहुनाको चलहपहल देखिएको हो । यसलगत्तै पछिल्लो समय नेपाल जेसिसको राष्ट्रिय सम्मेलन, नेशनल लाइफ इस्योरेन्सको सम्मान कार्यक्रम पनि भयो । पर्यटकीय याम भएकाले विभिन्न जिल्लाका विद्यालय, कलेज र सहकारीबाट दैनिक १०/१५ बस अध्ययन अवलोकनका लागिसमेत आउने गरेको पश्चिमाञ्चल होटल सङ्घ (हान)का अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

उनले भने,“कोरोनाले थलिएको पर्यटनमा पछिल्लो समय पोखरा केन्द्रित विभिन्न कार्यक्रमले पर्यटन व्यावसायीमा राहत मिलेको छ ।” पोखरामा करिब ७०० पर्यटकीयस्तरका होटलमा ३० हजारभन्दा बढी शैया छन् । अध्यक्ष सुवेदीका अनुसार पछिल्लो १० दिनको बीचमा करिब दुई लाख आन्तरिक पर्यटक यहाँ आएका छन् । जस्मा एक लाख तीन हजारले परीक्षा दिएको लोकसेवा आयोगको कार्यालयले जनाएको छ । सडक महोत्सवका कारण पनि पोखरामा आन्तरिक पर्यटकको सङ्ख्या थपिने उनको विश्वास छ । इस्वी सम्बतको नयाँ वर्षमा पोखरामा हुने सडक महोत्सवमा आउने पाहुना र लोकसेवाको परीक्षा दिने परीक्षार्थीलाई २० देखि ३० प्रतिशतसम्म विशेष सहुलियत दिइने व्यवस्था हानले गरेको पनि उनले जानकारी दिए ।

माउण्ट कैलाश होटलका सञ्चालक एवं २३औँ सडक महोत्सवका संयोजक नरेश भट्टराईले अहिले होटलमा आन्तरिक पर्यटकको आगमन निकै राम्रो भएको बताए । “कोरोनाको सङ्क्रमण पछिको समयमा होटलका करिब सतप्रतिशत कोठा बुकिङ भए, पाहुनाको आगमन राम्रो भएको छ । यसले केही आशा जगाएको छ ।” उनले भने, “अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा हुँदैआएको सडक महोत्सवले पनि पोखरामा आन्तरिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ । यहाँ पुस १५ गतेदेखि १७ गतेसम्म “समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता” भन्ने नाराका साथ महोत्सव हुँदैछ ।”

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाको न्यूनीकरणपछि यहाँ आन्तरिक पर्यटकको आगमनले व्यवसायीलाई उत्साह प्रदान गरेको बताए। “अहिले विभिन्न कार्यक्रमले पर्यटन व्यवसायलाई आशलाग्दो बनाएको छ । मौसममा पनि सुधार हुन थालेकाले पर्यटकको बसाइँ पनि लम्बिएको छ ।” उनले ओमिक्रोन भाइरस देखिएपछि फेरि पर्यटन ठप्प हुने हो कि भन्ने चिन्ता व्यवसायीमा देखिएको जनाउँदै सरकारले यसको नियन्त्रणका लागि पूर्वतयारी र पर्यटनमैत्री वातावरण निर्माणका लागि रणनीतिक योजना ल्याउन आवश्यक रहेको छ भने ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *