अपहरणमा परेका भनिएका चन्द्रे कामी हिँड्दै गर्दा भेटिए
मुगु। अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन्। चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए। सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन्।
अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन दिएको थियो।
प्रहरीले खोजी तीव्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले बेपत्ता पारिएका भनिएका चन्द्रेलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।
बाटोमा हिँड्दै गरेका क्रममा उनलाई खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए। सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे र मुगु सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा अन्तर जातीय विवाह गरेका हुन्।
तर, उनीहरू दुवैलाई २९ मंसिरमा माइती पक्षले बोलाएर लगेको र त्यसपछि चन्द्रेलाई कुटपिट गरेर बेपत्ता पारेको आरोप कामी परिवारले लगाउँदै प्रहरीमा उजुरी दिएका थिए।
यसपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक हेरम्ब शर्मा आफैं घटनास्थलमा पुगेर चन्द्रेको खोजीकार्यमा जुटेका हुन्।
प्रहरीले माइत पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने युवक सम्पर्कमा आएकाले थप अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment