खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दै

डिसी नेपाल
११ पुष २०७८ १७:५८

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।

खप्तडमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो । अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन थालेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए। उनले भने, “अहिले खप्तड हेर्न लाएक छ, यहाँका दृष्य अवलोकनका लागि भए पनि पर्यटक आउनेक्रम बढेको छ ।”

कोरोना भाइरस सङ्क्रमणको जोखिममा कमी भएपछि गएको वैशाखयता खप्तडमा कम्तीमा पनि आन्तरिक तथा बाह्य गरी तीन हजार पर्यटक भित्रिएको निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ । खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरबास होमस्टे तथा विश्रामस्थल निर्माण भएका कारण पनि पर्यटक आउनेक्रम बढ्दै गएको पूर्वीचौकी गाउँपालिका–२ का स्थानीयवासी धनबहादुर विष्टले बताए ।

उनले भने, “खप्तडमा अहिले सडक र घरबास निर्माण भएकाले पर्यटकको आर्कषण बढेको छ, पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासीको आयस्रोतमा समेत वृद्धि हुँदै गएको छ ।” यहाँ आएका पर्यटकलाई स्वागत गर्न र बास बस्नका लागि घर निर्माण भएकाले पर्यटक आउनेक्रम बढेको स्थानीयवासीको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा झरेको र पर्यटकका लागि बास बस्ने राम्रो व्यवस्था भएकाले खप्तडसहित यहाँका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेको सङ्ख्या अधिक रहेको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए ।

उनले भने, “पर्यटकका लागि हामीले अहिले यहाँ घरबास र यातायातको सुविधा मिलाएका छौँ, सुविधा पाउन थालेपछि पर्यटक आउनेक्रम बढेको छ ।” अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउनेक्रम बढेको तथा निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी सङ्घका जिल्लाध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, “अहिले खप्तडको दृष्य मनमोहक छ, पर्यटकको प्रमुख रोजाइँमा खप्तड परेकाले पर्यटकको आक्रर्षण बढेको हो ।” खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकनमा आउने गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार हिजोआज खप्तडमा दैनिक ८० देखि ९० जनासम्म पर्यटक आउने गरेका छन् । धर्तीको भू–स्वर्गका नामले चिनिने खप्तड निकुञ्जमा अहिले बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर, डोटीलगायत छिमेकी मुलुक भारतका आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिकस्थलका साथै विभिन्न जङ्गली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्र मनमोहक छन् । निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *