ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिककाे मृत्यु

डिसी नेपाल
२ माघ २०७८ १०:०८
1.3k
Shares

चितवन। केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो।

हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो । निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन।

साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। ‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले आक्रमण गरेको हो’, उनले भने, ‘उनी खड्ग दलमा अमलदारमा कार्यरत थिए। नामै खुलाउँदा परिवारलाई नराम्रो होला।’

सेनाको हेडक्वार्टरबाटै नाम खुलाउने भन्ने भएर अहिले मृतकको नाम नखुलाइएको उनले बताए। ‘ध्रुवेले अघिल्लो दिन पनि त्यता बबाल मच्चाइरहेको थियो। गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको थियो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘साँझपख निकुञ्जको नाकामा कुर्न जाँदा खेरी हात्तीसँग झम्काभेट भएछ। हात्तीले ढाडमा कुचेछ।’ हात्तीले कुल्चिएपछि जवानको ढाड भाँचिएको थियो।

ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो। ध्रुवे आक्रामक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *