टेस्ट मान्यता प्राप्त देशका महिला क्रिकेट खेलाडी पुरुषको रुप धारण गरेर खेल्न बाध्य

डिसी नेपाल
७ माघ २०७८ १४:५१

काठमाडौं। पाकिस्तानकी बिस्मा अमजद क्रिकेट खेल्छिन् । क्रिकेटपति उनको लगाव यतिसम्म छ कि महिला भएर उनले खेलको अभ्यास गर्न नपाएपछि उनले पुरुषको रुप धारण गरेर पनि अभ्यास जारी राखिन् । अमजद अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट खेल्न चाहन्छिन् । उनको छनोट विश्वकप खेल्नका लागि पाकिस्तानको अण्डर १९ महिला टिममा भएको पनि थियो ।

अण्डर १९ महिला विश्वकप २०२१ मा हुने तय थियो तर कोरोनाभाइरस महामारीका कारण प्रतियोगिता रद्द गरियो । यसबाट अमजदलाई दुःख त लाग्यो तर उनले आशा छोडिनन् । उनले आफ्नो अभ्यास जारी राख्ने निर्णय गरिन् ताकि उनले आफूलाई पाकिस्तानको राष्ट्रिय टिमको लागि तयार बनाउन सकुन् । तर, जब महामारी आयो, उनको अभ्यास रोकियो । किनकि उनी छोरी हुन् त्यसैले उनले अभ्यासको लागि कुनै ठाउँ पाइनन् । अमजदले यसको पनि समाधान निकालिन् । उनले केटाको रुप धारण गरेर केटाहरुसँगै गल्ली क्रिकेटमा अभ्यास सुरु गरिन् ।

द गार्डियनसँग कुरा गर्दै १९ वर्षकी अमजदले भनिन् ‘केटाहरुलाई महामारीका बेला पनि गल्ली क्रिकेट खेल्न दिइन्थ्यो । तर, केटीहरुलाई भने कहीँ आउन जान रोक लगाइयो । त्यसैले हामीले खेल्न पाउँदैनथ्यौं । मसँग केटा बनेर केटाहरुसँग अभ्यास गर्ने बाहेक कुनै विकल्प थिएन ।’ पाकिस्तानको कराचीकी अमजदका अनुसार क्रिकेट खेल्ने विषयमा मानिसहरुले उनको धेरै कुरा काट्छन् । उनका अनुसार मानिसहरुले उनलाई क्रिकेट खेलेर अनुहार कालो हुने, क्रिकेट केटाहरुको खेल हो बरु अरु कुनै काम गर ताकि बिहे गर्न सजिलो होस् जस्ता कुराहरु भन्छन् ।

अमजदका अनुसार क्रिकेट खेल्नको लागि केटा बन्ने उनी एक्ली होइनन् । रुढीवादी परिवारका कैयौं केटीहरु केटा बनेर अभ्यास गर्छन् । उनले भनिन् ‘मेरी एक साथीले त पूरै कपाल काटिदिइन् ताकि उनी खेल्न जाँदा कसैले उनी केटी हुन् भन्ने चिन्न नसकुन् । जो केटीहरु खेलकुदमा छन् उनीहरुले हाम्रो समाजमा धेरै संघर्ष गर्नुपर्छ ।’ अमजदलाई उनका पिताले भने निकै साथ दिन्छन् । पिताले नै उनलाई अभ्यासको लागि लैजान्थे । तर, एक पटक पिता बिरामी भएपछि उनको अभ्यास छुट्यो । पिता स्वस्थ भएपछि बल्ल उनले फेरि अभ्यास गर्न पाइन् ।

यस क्रममा उनले बाइक चलाउन सिकिन् ताकि उनी अभ्यासका लागि आउन जान सकुन् । तर, यहाँ पनि उनलाई कुरा काट्नेले छोडेनन् । केटाहरुले उनलाई केटी भएर बाइक चलाएको भन्दै जिस्क्याउँछन् । अमजदलाई उनका मातापिताले एक वर्षको समय दिएका छन् । माता पिताले उनलाई १ वर्षमा पाकिस्तानको राष्ट्रिय टिममा ठाउँ बनाउन र त्यो नसके क्रिकेट छोड्न भनेका छन् ।

पाकिस्तानमा पुरुष क्रिकेटमा निकै ध्यान दिइन्छ तर महिला क्रिकेटको लागि निकै कम काम भएको छ । पाकिस्तान सुपर लिग पुरुषहरुको लागि छ तर महिलाहरुको लागि यस्तो कुनै प्रतियोगिता आयोजना गरिँदैन । ३ वर्ष पहिले पाकिस्तान क्रिकेट बोर्डले महिला लिगको घोषणा गरेको थियो तर त्यसमा पनि अहिलेसम्म कुनै काम भएको छैन । पीसीबीका अध्यक्ष रमिज राजाले भने प्रतियोगिता आयोजना गरिने बताएका छन् ।

यो घोषणाले पाकिस्तानको महिला राष्ट्रिय टिमकी कप्तान जावेरिया खान निकै खुसी छिन् । उनले भनिन् ‘स्वागत योग्य कदम हो । यसबाट धेरै महिलाहरु क्रिकेट खेल्न प्रोत्साहित हुनेछन् । पुरुषहरुको लागि त यस्ता धेरै प्रतियोगिता छन् तर महिलाहरुले प्रतिभा देखाउने कुनै मौका पाउँदैनन् । महिलाहरुले आफ्नो प्रतिभा देखाउन यहाँ पुरुषले भन्दा दोब्बर मेहनत गर्नुपर्छ ।’

कराचीकै आसफा हुसैन क्रिकेटकी उदाउँदी प्रतिभा हुन् । उनी आफ्ना पिताको जानकारी बिना क्रिकेट खेल्थिन् किनकि उनका पितालाई आफ्नी छोरी क्रिकेट खेलेको मन पर्दैनथ्यो । आसफाकी आमाले उनलाई लुकेर क्रिकेट एकेडेमी लैजाने र ल्याउने गर्थिन् । उनले भनिन् ‘जब अब्बुले यसबारे थाहा पाउनुभयो, निकै रिसाउनुभएको थियो । त्यतिबेला अम्मीले उहाँलाई मलाई प्रतिभा प्रमाणित गर्ने एक मौका दिन मनाउनुभयो । अण्डर १७ को ट्रायलमा मेरो छनोट हुँदा अब्बु निकै खुसी हुनुहुन्थ्यो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *