यस वर्षको प्रणय दिवसमा अढाइ करोड रुपैयाँ बराबर गुलाफको कारोबार हुने

डिसी नेपाल
१ फागुन २०७८ १५:३९
32
Shares

काठमाडौँ। ‘प्रेम दिवस’ प्रेमिल जोडीहरुले मनाउने गर्दछन्। प्रेम दिवसको दिन प्रेमीले आफ्नो प्रेमिकालाई गुलाफको फुल दिने र ‘सरप्राइज गिफ्ट’ दिने चलन रहेको छ। सोही अवसरमा यस दिन करोडौं रुपैयाँको गुलाफको फूलको कारोबार समेत हुने गरेको छ ।

यस वर्षको प्रेम दिवसमा २ लाख ३० हजार स्टिम गुलाफको फूल कारोबार हुने अनुमान रहेको फ्लोरिकल्चर एसोसियसन नेपाल (एफएएन)का अध्यक्ष मिन बहादुर तामाङ्गले जानकारी दिए। गत वर्ष करिब १ लाख ८० हजार स्टिम गुलाफको फुल कारोबार भएको थियो ।

उनले भने,’कोरोना संक्रमण घट्दै गएको र सरकारले पनि खुकुलो गर्दै गएको हुनाले यस वर्ष गुलाफको फुलको कारोबार बढ्ने अनुमान रहेको छ।’ युवा पुस्तामा पनि प्रेम दिवसको महत्व हरेक वर्ष बढेर गएको हुनाले गुलाफको कारोबार राम्रो हुने अनुमान गरिएको छ।

प्रेम दिवसको दिन कुल मागको ६० प्रतिशत काठमाडौँ उपत्यका भित्र खपत हुने गरेको छ भने ४० प्रतिशत अरु सहरहरु पोखरा, चितवन, बिराटनगर, धनगढी, नेपालगुञ्ज र धरानलगायतमा खपत हुने अध्यक्ष तामाङ्गले बताए ।

यो वर्ष नेपालमा गुलाफको उत्पादन अत्यधिक कम भएको पनि उनले बताए । उनले भने,’हाम्रो उत्पादनले  कुल मागको १० प्रतिशत मात्र धान्ने देखिएको छ बाँकी ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु पर्ने देखिएको छ।’

‘नेपालमा उत्पादन कम हुनुको कारण यो वर्ष माघ महिना सुरुवातदेखि नै अत्याधिक चिसो बढेको छ जसले गर्दा नेपालमा फुल उत्पादन कम भएको हो। र दुई वर्ष अगाडी सरकारले जति बेला लकडाउन गर्यो त्यो लकडाउनको अवधिमा सरकारले फुल व्यवसायलाई अति आवश्यकीय बस्तु भित्र राखेन जसले गर्दा फुल खेती गर्नेहरुको बासस्थानदेखि फामसम्म आवतजावत गर्न एकदम समस्या भयो त्यो समस्या हुने बितिकै फुल खेती गर्नेको दैनिक काम थप भयो जसले गर्दा आधा बिरुवा मरेर गयो।’ उनले भने।

कोरोनाका कारण बजारमा कति बेला लकडाउन हुन्छ भन्ने कुराले फुल ब्यबसायीहरु त्रसित छन् । बिरुवा रोपिसकेपछि निश्चित समयमा उत्पादन आउँछ त्यो उत्पादन आउने समयमा बजारमा लकडाउन हुने हो कि भन्ने त्रासले २ वर्षदेखि फुल खेतीमा लगानी नभएको अध्यक्ष तामाङ बताउँछन् । थप लगानी नगरेको कारणले पनि गुलाफ पहिलेको भन्दा कम उत्पादन भएको उनले बताए।

लकडाउन सुरु हुनु भन्दा अगाडि यो समयमा नेपालले २० प्रतिशत जति फुलको माग धान्ने गरेको थियो। यो वर्ष १० प्रतिशत मात्र धान्ने देखिएको छ। प्रेम दिवसको दिन फूलको गुणस्तरअनुसार प्रति स्टिम ८० रुपैयाँदेखि १०० रुपैयाँसम्म मुल्य हुने उनले बताए । अरु समयमा ४० देखि ५० रुपैयाँ पर्न आउने  गर्दछ।

यस वर्ष २ करोडदेखि साढे २ करोड रुपैयाँसम्म फुलको कारोबार हुने अनुमान रहेको अध्यक्ष तामाङ्ग बताउँछन् । चैत महिनादेखि मङ्सिर महिनासम्म आफ्नै उत्पादनले पुग्ने गरेको अध्यक्ष तामाङले बताए। चाडपर्व बाहेक सामान्य दिनमा दैनिक ८ देखि १० हजार स्टिम गुलाफको फुल नेपालमा खपत हुने गरेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.