विश्वकप पुग्न नेपाललाई युएईले दियो १७६ रनको लक्ष्य

डिसी नेपाल
१० फागुन २०७८ १७:२३
172
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल खेलमा यूएईले नेपाललाई १७६ रनको विजय लक्ष्य दिएको छ ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको हो । यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ७० रन बनाए ।

३८ बलको सामना गरेका वासिमले चार चौका र चार छक्का हानेका थिए । वृत्य अरविन्दले ४६ रन बनाए । २३ बलको सामना गरेका अरविन्दले पाँच चौका र तीन छक्का हानेका थिए। ओपनर चिराग सुरी चार रनमा पेभेलियन फर्किएका थिए । मोहमद उसमानले १७ र वानार फ्रेदले अविजित ११ रन बनाए ।

बलिङमा नेपालका जितेन्द्र मुखिया र अविनास बोहोराले तीन तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने एक विकेट लिए ।

आजको खेल नेपालका लागि सबैभन्दा महत्वपूर्ण छ किनकि आजको खेल जितेर फाइनल पुग्ने टिमले २०२२ मा अस्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्न पाउनेछ । नेपालले आज खेल्ने पिच लो स्कोरिङ छ । यहाँ नेपालले पहिलो खेल ओमनसँग खेलेर ११७ रन बनाएको थियो र ओमनलाई ७८ रनमै रोकेको थियो ।

यही मैदानमा नेपालले दोस्रो खेल हिजो खेलेको थियो । हिजो नेपालले क्यानडालाई ८० रनमै रोकेको थियो र लक्ष्य पच्छ्याएर जितेको थियो । यस्तै यही मैदानमा युएइले आयरल्याण्डसँग १५७ रन बनाएको थियो । आयरल्याण्डलाई १३९ मै रोकेर जितेको थियो । यस्तै अर्को खेलमा जर्मनीविरुद्ध १९१ रन बनाएको थियो र जर्मनीलाई १६७ मा रोकेको थियो । यो मैदानमा विश्वकप छनोटका अहिलेसम्म खेलमा नेपाल र युएइ दुवैले कुनै खेल हारेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *