नेरीको ह्याट्रिक विकेटमा लुम्बिनी विजयी

डिसी नेपाल
११ फागुन २०७८ १७:४३
48
Shares

काठमाडौं । बलिङमा नेरी थापा चम्किएसँगै लुम्बिनी प्रदेशले ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपमा बुधबार ललितपुर मेयर्सलाई दुई रनले पराजित गरेको छ ।

नेरीले ह्याट्रिकसँगै चार विकेट लिएपछि ९४ रनको विजयी लक्ष्य पछ्याएको आयोजक ललितपुर ९२ रनमै समेटियो ।

ललितपुरकी कञ्चन श्रेष्ठले सर्वाधिक २२ रन बनाइन् । यस्तै, अस्मिना कर्माचार्यले २०, साना प्रविनले १२ र सुमन खतिवडाले ११ रन बनाए ।

लुम्बिनीबाट नेरीले चार विकेट लिइन् । दोस्रो इनिङको अन्तिम ओभरमा ह्याट्रिक लिएकी नेरीले चार ओभरमा एक मेडन मात्र चार रन खर्चिइन् । यसबाहेक, कृतिका मरासिनीले तीन र सुस्मिता भुसालले दुई विकेट लिइन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९४ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले सर्वाधिक ३१ रन बनाइन् । उनले ४७ बलमा दुई चौका प्रहार गरिन् । यस्तै, सरस्वती पुनले २० र नेरी थापाले १५ रन बनाइन् ।

ललितपुरकी सुमन खतिवडाले तीन विकेट लिँदा शीला क्षेत्रीले एक विकेट लिइन् ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, प्रदेश एक, लुम्बिनी प्रदेश र आयोजक ललितपुर गरी पाँच टोली सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *